किन लुकाइन्छ कोरोना संक्रमितको परिचय ?

207

सुधान्सु कोइराला

नेपालगन्ज, वैशाख २०

मेरो जिज्ञासा कोरोना संक्रमितको परिचय किन लुकाइन्छ ? “कोरोनाले कुनै व्यक्ति विशेषलाई चिन्दैन । न त जात भन्छ न धर्म, न त कुनै राजनीतिक आस्था हेर्छ न कुनै राज्य नै । समाजमा भएका कसैलाई पनि यो संक्रमणले अङ्गाल्न सक्छ र त्यस्तो भई पनि रहेको छ । त्यसकारण एकजनाबाट अर्को मानिसलाई नसरोस् भनेर राज्यले “लकडाउन”को प्रावधान लिएर आएको हो । ता कि यो संक्रमण फैलिने क्रममा केही कमि नआउन्जेलसम्म हामी अति आवश्यक कार्यको निम्ति बाहिर निस्क्ने बाहेक आ-आफ्नै घरमा सुरक्षित बसौै। र यो नै कोरोनाविरुद्ध लड्ने र सुरक्षित हुने एउटा उत्तम विकल्पको रुपमा देखिएको छ र जसलाई हामी सम्पूर्ण नागरिकहरुले पालना गर्न जरुरी छ ।

तर हालसम्म के देखिएको छ भने कसैलाई कोरोना संक्रमण भएको भेटियो भने उसलाई अपराधी नै हो कि जस्तो व्यवहार गर्ने गरिएको जस्तो भान हुन्छ । कुनै ठूलो अपराधीलाई समातेपछि उनीहरुको अनुहारमा मुखुण्डो लगाए झैं । त्यसो गर्नुको साटो त्यस घट्नाक्रमलाई स्वभाविक रुपमा लिएर उसको परिचयसहित विवरण खुलाइदिने हो भने कम्तीमा ऊसँग सम्पर्कमा आएका व्यक्तिले समय मै उपचारको निम्ति सम्बन्धित ठाउँमा जान सक्थे । अर्को कुरा सम्बन्धित निकायले “फलानालाई कोरोना संक्रमण देखिएको हुनाले उहाँसँग सम्पर्कमा आउनु भएका महानुभावले पनि आफू र आफन्तलाई संक्रमण हुनबाट समयमै बचाउन फलाना ठाउँमा सम्पर्क गरिदिन बिनम्र अनुरोध गर्दैछौं ” भन्ने जस्ता सूचनाहरु प्रवाह गर्न सक्यो भने प्रहरी प्रशासनले बाँकी संक्रमितको खोजी गर्न जति स्रोत र साधनमा खर्च हुन्छ पक्कै पनि त्यसमा आर्थिकभार आधाले नै कमि आउँछ । जसले गर्दा छिटोछरितो तवरले सेवा प्रवाह पनि हुन्छ ।
एकातिर केही मानिस लकडाउनको नाममा घरमैं बसेर पालना गर्दै आफूलाई सुरक्षित राख्दै आएका छन् भने अर्कोतिर अति आत्यावश्यक कामको निहुँ बनाएर बैंक र तरकारी पसल बाहिर मानिसको भिडभाड देख्दा लाग्छ अत्यावश्यक सेवा लिँदा या दिँदा कोरोनाले हामीलाई माफ गर्छ र !

त्यसकारण यस संवेदनशील घडीमा नागरिक र प्रशासन दुवैले संयमता अपनाइ जिम्मेवार बन्न आवश्यक छ । अत्यावश्यक सेवा लिन र दिन पनि पाउनु पर्यो र साथै सुरक्षित उपाय पनि अवलम्बन गर्नु पर्यो । जसमा प्रशासनले पनि अहम् भूमिका निभाउन सक्छ । अहिलेसम्म प्रहरी, सेना, स्वास्थकर्मीलगायत राष्ट्र सेवकहरुले दिएको योगदानको सम्मान गर्दै राज्यले कोरोनाविरुद्ध देशभरका जोखिम क्षेत्रको पहिचान गरी त्यस अनुसार देशका स्वास्थ र सुरक्षा स‌ंयन्त्र परिचालन गर्न अति आवश्यक छ ।

(नेेपालगन्ज उपमहानगरपालिका १० निवासी कोइराला नेपाली काङ्गग्रेसका जिल्ला सदस्य हुन । )

Womui
Womui