क्रसर उद्योगलाई दर्ता र नवीकरण प्रक्रियामा जान राप्तीसोनारी गाउँपालिकाको निर्देशन

63

बाँके (अगैया), बैशाख १७-
राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगलाई दर्ता र नवीकरण प्रक्रियामा जान दुई हप्ताको समय दिइएको छ । राप्तीसोनारी गाउँपालिकाको बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राप्तीसोनारी क्षेत्रभित्र सञ्चालनमा रहेका क्रसर उद्योगलाई प्रदेश सरकारको ऐन, नियम अनुसार दर्ता र नविकरण प्रक्रियामा जान निर्देशन दिएको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको उक्त बैठकले दुई हप्ताभित्र दर्ता र नवीकरण प्रक्रियामा नजाने क्रसर उद्योगविरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने, ‘राप्तीसोनारी क्षेत्रभित्र सञ्चालित जतिपनि क्रसर उद्योगहरु छन्, यिनीहरुलाई प्रदेश सरकारको ऐन, नियम अनुसार दर्ता र नवीकरण प्रक्रियामा जान कार्यपालिका बैठकले दुई हप्ताको समय दिएको छ ।’

कार्यपालिका बैठकले कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट प्रभावित नागरिकलाई गाउँपालिकाले वितरण गरेको राहत कार्यक्रमको समिक्षा गर्दै आगामी दिनमा अझै थप ब्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिका क्षेत्रभित्र राहत वितरण गर्दा संघिय सरकारको निर्णय अनुरुप एकद्धार प्रणालीबाट वितरण गर्न गैरसरकारी निकाय, संघ, संस्था तथा निजी कम्पनी लगायतलाई बैठकले अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । ‘केही संघ, संस्था तथा समुहले एकद्धार प्रणालीलाई बेवास्ता गरेको पाइएको छ, अबदेखी जो सुकैले पनि एकद्धार प्रणालीमार्फत मात्र वितरण गर्न पाउँनेछ,’ उनले भने ।

यस्तै गाउँपालिका क्षेत्रभित्र नदीजनय पदार्थ संकलन गरेर राखिएको स्टक ढुंगा, गिट्टी, ग्राभेल र बालुवाको स्टक खारेज गरेको बस्नेतले जानकारी दिएका छन् । यसैगरी कोरोना भाइरसका कारण २०७६ सालको एसइइ परिक्षा दिन नपाएका बिद्यार्थी तथा नयाँ शैक्षिक शत्रका लागि बिद्यालय जान नसकेका कक्षा १ देखी १० सम्मका बिद्यार्थीलाई लक्षित गरेर रेडियोमार्फत शिक्षा प्रदान गर्ने लगायत विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । कार्यपालिका बैठकलाई सम्बोधन गर्र्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले कोरोना भाइरसविरुद्ध गाउँपालिकाले अहिलेसम्म गरेका काम प्रभावकारी रहेको र अझै थप प्रभावकारी बनाउन सबै वडापालिका सक्रिय रुपले लाग्नुपर्ने बताए ।

‘अहिलेसम्म हाम्रा वडाअध्यक्ष ज्युहरुको काम एकदमै प्रभावकारी छ,’ उनले भने । गाउँपालिकाभित्र कसैलाई पनि भोको बस्न नदिन सबै जनप्रतिनिधी सचेत र सजग हुनुपर्ने अध्यक्ष थारुले बताए । ‘कोही कसैको घरमा चुलो बलेको छैन भने त्यस्ता ब्यक्ति र परिवारलाई घरमै पुगेर राहत वितरण गरिरहेका छौं, अझैपनि त्यस्तो कोही छ भने उनीहरुलाई राहत वितरण गर्न वडाअध्यक्ष ज्युहरुले विशेष ध्यान दिन जरुरी छ,’ उनले भने ।

Womui
Womui