राप्तीसोनारीले गर्‌यो महत्तवपूर्ण एजेन्डा सार्वजनिक

156

खड्क खत्री
बाँके (राप्तीसोनारी), वैशाख १७-

राप्तीसोनारी गाउँपालिकाले विभिन्न एजेण्डा माथि छलफल गर्दै महत्तवपूर्ण निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले विभिन्न ११ एजेन्डामाथि छलफल गर्दै महत्तवपूर्ण निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको संक्रमणका कारण सरकारले गरेको लकडाउनबाट प्रभावित परिवारका लागि अहिलेसम्म गरिएको राहत वितरणको समीक्षा गर्नुका साथै अहिलेसम्म राहत वितरणको काम सन्तोषजनक रहेको निस्कर्ष निकालेको छ । लकडाउनका कारण रोकिएका विकास निर्माण कार्यलाई समय अनुकूल मिलाएर सुचारु गर्ने निर्णय बैठकले गरेको छ भने करार र ज्यालादारीमा रहेका कर्मचारीको म्याद थपेर सेवा अवधि बढाउने निर्णय भएको अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका अन्तर्गतका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन अनुमति दिने निर्णय भएको जानकारी दिँदै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले सेक्युरिटीको म्याद थप गरेर उनीहरुलाई परिचालन गरिने बताए । नदीजन्य पदार्थ उत्खननको जिम्मा लिएका ठेकेदार, निर्माण व्यवसायी र क्रसर उद्योगले अबदेखि खोलानालामा ढुंगागिट्टी स्टक गरेर राख्न पाउने छैनन् भने देसमा जारी लकडाउनका कारण ठेक्कापट्टाको म्याद नथपिएका ठेकेदारको म्यादसमेत थप गरिने छ ।

जिल्ला समन्वय समितिबाट प्राप्त अनुदानबाट संचालित योजनालाई पनि गाउँपालिकाले चालु गर्ने भएको छ । कोरोना भाइरसका कारण आर्थिक संकट निम्तिने खतरालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र छिटो उत्पादन हुन सक्ने कृषिमूलक कार्यक्रम ल्याउने निर्णय बैठकले गरेको अध्यक्ष थारुले जानकारी दिए । त्यस्तै रेडियो शिक्षा कार्यक्रमलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय भएको प्रशासकीय प्रमुख दलबहादुर बस्नेतले जानकारी दिए ।

Womui
Womui