रहेनन् बलिउड अभिनेता इरफान

99

एजेन्सी (मुम्बई), वैशाख १७–

बलिउड अभिनेता इरफान खान अब हामी माझ रहेनन् । मंगलबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।

गत वर्ष खान गम्भीर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी सन् १९६७ जनवरी ७ मा भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए। इरफानका पिता साहबजादा यासिन अली खान उद्यमी थिए । आमा गृहणी थिइन्। उनका दुई भाइ छन्, सलमान खान र इमरान खान। रुखसाना बेगम नामकी एक बहिनी छिन् ।

उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिएका थिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य विद्यालयमै आवद्ध थिइन् । उनीहरूको कोखबाट दुई छोराहरू जन्मिए, अयान खान र बबिल खान । इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका हुन्, १९८८ मा ।  त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे। यसबीचमा इरफानले हसिल, लाइफ इन ए..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वर्ल्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।

इरफानको अन्त्येष्टि बुधबार साँझ ५ बजे

बुधबार साँझ ५ बजेको अन्तिम संस्कार गरिने भएको छ । उनको अन्तिम संस्कारमा भने बलिउडका कोही पनि सेलिब्रेटी उपस्थिति हुने छैनन् । अन्तिम संस्कारमा इरफानको परिवार र उनका निकटस्थ्यहरु लगभग २० जना मात्र सहभागी हुनेछन् । लकडाउनका कारण २० भन्दा बढी व्यक्ति जम्मा गर्न नचाहेको उनको परिवारले बताएको छ । इरफानको अन्तिम संस्का मुम्बई पुलिसको निगरानीमा हुनेछ ।

Womui
Womui