‘कसैलाई भोको बस्न दिन्न’

197

छिनछिन खबर
नेपालगन्ज, वैशाख १७–

लकडाउनका कारण जनजीवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग भोकै बस्न बाध्य छन् । तर लकडाउन जतिसुकै लम्बिएपनि नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले आफ्ना जनतालाई भोकभोकै बस्न नदिने बताएका छन् । पहिलो चरणमा ८५० घरधुरीलाई राहत वितरण गरेको बताउँदै उनले दोस्रो चरणमा पनि राहत वितरण कार्यलाई निरन्तरता दिने बताए ।

पहिलो चरणमा प्रत्येक घरधुरीलाई २० किलो चामल, २ किलो दाल, २ थान साबुन, १ लिटर तेल र १ पोका नुन  वितरण गरिएको थियो । दोस्रो चरणमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग, अति गरिब र विपन्न परिवारका कोही सदस्य राहत पाउनबाट वञ्चित नहुन भन्ने उद्देश्यले वडाकार्यालयमार्फत् तथ्यांक संकलन कार्य तीव्र गतिले भइरहेको जानकारी अध्यक्ष शाहले दिए ।

सरकारबाट उपलब्ध राहत अपुग भएपनि आफूले गाउँपालिकावासीलाई भोकै बस्न नदिने बताएका छन् । अन्य स्रोत परिचालन गरेर भएपनि गाउँपालिकावासीलाई भोकै बस्न नदिने अध्यक्ष शाहले बताए ।

लकडाउनको सुरुवातमा पालना नभएपनि अहिले पूर्णरुपमा नरैनापुरमा लकडाउनको पालना भइरहेको अध्यक्ष शाहले जानकारी दिए । उनले भने,‘सीमा क्षेत्रसँग जोडिएको गाउँपालिका भएकाले पनि भारतबाट लुकीछिपी आउने क्रम बढ्दो थियो । तर अहिले एक सय दस जनाको सशस्त्र प्रहरीको टोलीलाई सीमा क्षेत्रमा परिचालन गरेका छौं । साथै जनपद प्रहरीको सक्रियता र हामी जनप्रतिनिधिको कडा निगरानीका कारण अहिले लुकीछिपी नेपाल भित्र्नेको क्रम पूर्ण रुपमा घटेको छ ।’

रातबितरातमा लुकीछिपी भारतबाट कोही आइहाले सर्वसाधारणले पनि गाउँपालिका र सुरक्षा प्रशासनलाई सहयोग गरिरहेको अध्यक्ष शाहले बताए । उनले भने,‘ यदि कोही रातिको समयमा गाउँ प्रवेश गरीहाले गाउँले स्वयम्ले हामीलाई सम्पर्क गर्ने गरेका छन् । अस्ति भर्खरै ६ जनाको टोली लुकीछिपी गाउँ प्रवेश गरेको थियो । गाउँलेले खबर गरेपछि उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखेका छौं ।’ त्यस्तै उनले गाउँपालिका भर ४ वटा क्वारेन्टाइन संचालनमा रहेको जानकारी दिए । क्वारेन्टाइनमा बस्नेका लागि राम्रो खाना र बस्ने बन्दोबस्त गरेको बताउँदै अध्यक्ष शाहले स्वास्थ्यकर्मीको निगरानीमा १२ जनालाई क्वारेन्टाइनमा राखिएको बताए ।

Womui
Womui