‘स्वास्थ्यकर्मी २४ सैं घण्टा परिचालित छन्’

272

कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गइरहेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएको छ । सरकारले कोरोना रोगको रोकथामका लागि देशमा लकडाउन जारी गरेको छ । सरकारले चैत ११ गतेदेखि एक हप्ताका लागि लकडाउन गरेको थियो । पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‌याएको थियो । वैशाख २ गते सरकारले फेरि १२ दिनको लागि लकडाउन थपेर १५ गतेसम्म बनाएको थियो भने अहिले त्यसलाई १० दिन थप गरेर वैशाख २५ गतेसम्मका लागि लम्ब्याएको छ । जसका कारण देसको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग, विपन्न र अति गरिब परिवारको दैनिकी झन कष्टकर बन्दै गइरहेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले जनस्तरमा कोरोना भाइरसबाट बच्ने जनचेतना फैलाउनुका साथै उनीहरुका लागि राहत दिने व्यवस्था गरेको छ । यही सेरोफेरोमा रहेर डुडुवा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अवस्था, क्वारेन्टाइनको व्यस्थापन र प्रकोप व्यवस्थापन कोषको अवस्थाबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायसँग छिनछिन खबरका लागि रमण ओलीले गरेको संवाद ।

डुडुवा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अवस्था कस्तो छ ?

यहाँ भएका क्वारेन्टाइनलाई व्यवस्थित गर्दै बाहिरबाट आएका मानिसलाई चेकजाँच र सचेतना फैलाउनका लागि स्वास्थ्य संस्थामा त्यही अनुपातको जनशक्ति परिचालन गरिएको छ । कोरोना भाइरसको लक्ष्ण देखिने रोगको औषधिहरु हामीले नेपाल सरकारले दिएको बजेटको दायरामा रहेर समयमै खरिद गरेर राखेका छौं । कोरोना भाइरसबाट बच्ने उपाय सिकाउन ५४ जना स्वयम् सेवक परिचालन गरेका छौं । १७ वटा हेल्प डेस्क स्थापना भएका छन् भने स्वास्थ्यकर्मीहरु २४ सैं घण्टा परिचालन भएका छन् ।

प्रकोप व्यवस्थापन कोषको अवस्था कस्तो छ र ककसले सहयोग गरेका छन् ?

प्रकोप व्यवस्थापन कोषमा हामीसँग कोरोना व्यवस्थापनका लागि बनाएको कार्ययोजना बमोजिम पुग्ने पैसा छ । जसमा संघले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको १०लाख रुपैयाँ आइसकेको अवस्था छ । राहत कोषमा स्याक बाँकेले १० हजार, बागेश्वरी असल शासन क्लबले १० हजार, केशवराज वर्माले व्यक्तिगत ११ हजार रुपैयाँ र बीग्रुपले ११ हजार रुपैयाँ सहयोग गरेका छन् भने हामी कर्मचारीले तीन दिनको हुन आउने रकम ३ लाख ३९ हजार १ सय ६६ रुपैयाँ सहयोग गरेका छौं । कूल जम्मा १३ लाख ८१ हजार १ सय ६६ रुपैयाँ बाहिरबाट सहयोग जुटेको छ । गाउँपालिकाको विपत् व्यवस्थापनमा छुट्याइएको पैसा पनि त्यही कोषमा छ । जसबाट राहत सामग्री किन्नमा १५ लाख रुपैयाँ जति खर्च भएको छ ।

राहत वितरणको अवस्था कस्तो छ ?

१० हजार घरधुरीलाई हामीले ४ वटा मास्क र दुईवटा साबुनका दरले वितरण गरेको छौं । राहत वितरणको डाटा लिने क्रममा गाउँका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सामाजिक दूरी कायम गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेका छौं। तेस्रो चरणमा राहत पाउनयोग्य व्यक्तिको डाटा संकलन गर्दै छौं ।

कोरोना भाइरस रोकथामका लागि आइरहेका समस्या के के होलान् र यसको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

कोरोना भाइरस रोकथामका क्रममा हामीलाई आइपरेको सबैभन्दा ठूलो समस्या भनेको हाम्रो गाउँपालिका बोर्डर नजिक परेकाले इण्डिया आवतजावत गर्ने मानिस त्यही नाका भएर जाने हुन कि भन्ने चिन्ता छ ।

अहिले हामीसँग १३ जना भारतीय नागरिक क्वारेन्टाइनमा छन् । उनीहरु काठमाडौंलगायतका क्षेत्रबाट लकडाउन भएपछि इन्डिया जान भनेर आएका हुन् । त्यस्तो अवस्था आयो भने उनीहरुलाई कति दिनसम्म पाल्नु पर्ने हो र यो क्रम थपिए आर्थिक भार बढ्ला जस्तो छ । अर्को समस्या भनेको बोर्डरको फाइदा उठाउँदै लुकीछुपी आएर कोही बसेका छन् कि भन्ने छ । हुन त घरधुरी अनुसारको लगत राख्न प्रत्येक वडा कार्यालयलाई खबर भइसकेको छ। फेरि पनि बोर्डरले गर्दा अलि समस्या पारेको छ । अर्को कुरा राहत वितरणमा समस्या देखिएला जस्तो छ । हामीले करिब १८ सय घरधुरीलाई राहत बाँड्ने लक्ष्य थियो । अहिलेसम्म करिब ७५० घरपरिवारलाई राहत वितरण गरिसकेका छौं । लकडाउन लम्बँदै गयो भने हाम्रो गाउँपालिकालाई मात्रै नभएर पूरै स्थानीय तहलाई समस्या आइपर्छ । त्यसैले हामीले डुडुवा गाउँपालिकाको हकमा यहाँ भएका ठूला विकास निर्माणका कामलाई सामाजिक दूरी कायम गर्दै सुचारु गर्ने योजना बनाएका छौं । त्यसो भयो भने राहत लिनेको क्रम स्वतः घट्ने छ ।

हामीलाई अर्को मुख्य समस्या भनेको हामीसँग कोरोना भाइरस टेस्ट गर्ने किट छैन । बोर्डर एरियासँग जोडिएको गाउँपालिका भएकाले पनि यहाँ बाहिरबाट धेरै नागरिक आएका छन् । हुन् त उनीहरुलाई हामीले सामान्य चेकजाँच गरेर होमक्वारेन्टाइमा राखेका छौं । तर जबसम्म कोरोना भाइरसको परीक्षण हुँदैन तबसम्म ढुक्क भएर बस्ने अवस्था चाहिँ छैन । हामीले यसबारे सरकारसँग समन्वय गरिरहेका छौं ।

त्यस्तै यहाँ भएका मन्दिर, मस्जिद भारतीय नागरिकको आस्थाको केन्द्रबिन्दू भएकाले लकडाउन अगाडि आवतजावत गर्ने संख्या बढी थियो । मन्दिर र मस्जिदमा भएका मानिसको हामीले कोरोना भाइरस परीक्षण गर्न पाएका छैनौं तर हामीले पूजारी र मौलानासँग रेर्कड मागेका छौं र आउने क्रम जारी भएकाले त्यहाँ भएकाहरुलाई कोरोना परीक्षण गर्ने योजनामा छौं ।

लकडाउनको पालना कत्ति भएको छ ?

हामीले घरदैलोमै पुगेर मास्क र साबुन बाँड्दै लकडाउनको पालना गर्न अनुरोध गरिरहेका छौं । त्यति गर्दा पनि केही ठाउँमा मानिसहरु जम्मा हुने क्रम बढेकाले जनचेतना जगाउँदै हामीले केही ठाउँको अनुगमन गरेपश्चात् अहिले डुडुवा गाउँपालिकामा लकडाउनको पालना भएकै छ ।

गाउँपालिकाले क्वारेन्टाइनको व्यवस्थापन कसरी मिलाइरहेको छ ?

डुडुवा गाउँपालिकामा ३८ बेडको तीनवटा क्वारेन्टाइन छन् । साहपुरवा वडा नम्बर ४ मा ११ बेडको, वेतहनी स्वास्थ चौकीमा ११ बेडको र हिरमिनियामा १६ बेडको क्वारेन्टाइन छ । बेतहनीमा केही छन् भने बोर्डरमा रहेको हिरमिनिया क्वारेन्टाइन १६ जना छन् । जुन क्वारेन्टाइनमा व्यक्ति छन् उनीहरुको स्वास्थ्य अवस्था र कोही भाग्छन् कि भनेर निगरानी गरिरहेका छौं भने त्यहाँ बसेकाको लागि खाने राम्रो व्यवस्था मिलाएका छौं ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन केके काम भए ?

हामीले सब भन्दा पहिले कार्ययोजना बनायौं । मलाई लाग्छ डुडुवा गाउँपालिकाले देसभरमै दुई तीनवटा काम लकडाउन अगाडिनै कोरोना भाइरसबाट बच्न लागि गरेको थियो । १७ वटा हेल्प डेस्क स्थापना गरेका थियौं  . सीमानाकामा तीनवटा, प्रत्येक स्वास्थ चौकी र वडा कार्यालयमा त्यो पनि नेपाल सरकारले लकडाउन गर्नु भन्दा अगाडि । अन्य राष्ट्रमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै त्यहाँका राष्ट्रले अपनाएको विधिलाई पछ्यायौं । जहाँ हामीले कोरोना सम्बन्धी सचेतना फैलाउने र साबुन पानीले हात धुन सिकाएका थियौं । अहिले पनि ती हेल्प डेस्क एक्टिभ छन् ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
कोरोना भाइरस भनेको विश्वव्यापी रुपमा महामारी लिइरहेको रोग हो । जसको  औषधि अहिलेसम्म पनि पत्ता लागेको छैन । त्यसैले नेपाल सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपले पालना गर्न म बाँकेवासीलगायत गाउँपालिकावासीलाई अनुरोध गर्दछु । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्थानीय पालिकाले जुन जुन नियम पालना गर्न निर्देशन जारी गर्नुभएको छ सबैलाई हुबहु पालना गरिदिनुहोस् । यदि कुनै गुनासा र समस्या भए गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडासदस्य, स्वास्थ्य चौकी इन्चार्जलाई तुरुन्तै खबर गर्नुहोस् । विशेष गरी बाहिरबाट आएका मानिस भए वा कोरोना भाइरसको लक्ष्ण देखिने कोही व्यक्ति तपाइँको घरछिमेकमा छ भने तत्कालै खबर गर्न अनुरोध छ । साथै नेपाल सरकारले गरेको लकडाउन र गाउँपालिकाले लिएको लक्ष्यमा गाउँपालिकावासीले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

Womui
Womui