कोहलपुर चौराहामा ७ हजार बढीलाई निःशुल्क खाना खुवाइयो

154

कोहलपुर, बैशाख १५-
सरकारले गरेको लकडाउनका कारण राजमार्गमा अलपत्र परेका ७ हजार बढी पैदल यात्रीलाई कोहलपुरमा निःशुल्क खाना खुवाइएको छ । कोहलपुरको चौराहामा यही बैशाख ४ गतेबाट ब्यवसायी लक्ष्मणराज पौडेलको अग्रसरतामा प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघ र नेपाली कांग्रेस कोहलपुर वडा नम्बर ११ इकाई समितिले पैदल यात्रुका लागि निःशुल्क खाना खुवाउन सुरु गरेका थिए ।

विभिन्न जिल्लाबाट कोहलपुर चौराहामा आइपुगेका सात हजार २ सय ८२ जना यात्रुलाई खाना खुवाउनुका साथै १३ हजार बढीलाई उद्दार तथा तयारी खाजा (चाउचाउ, चिउरा, भुजा, विस्कुट, पानी) व्यवस्थापन गरिएको हो । कोहलपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा भोजन ब्यवस्थापनका ब्यवस्थापक एवम् ब्यवसायी पौडेलले यस्तो जानकारी दिएका हुन् ।

‘सामाजिक उत्तरदायित्व वहन गर्न बाहेक हाम्रो अरु कुनै स्वार्थ थिएन, तर केही एकाध ब्यक्तिहरु मानवीय सम्वेदनमाथी खेलवाड गर्दै हाम्रो अभियानलाई निस्तेज पार्न कुनै कसर बाँकी राखेनन्,’ पौडेलले भने ‘तर यस क्षेत्रका पत्रकार, सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज, उद्योगी, ब्यवसायी, समाजसेवी, राजनीतिककर्मी, युवा, तरुण, महिला, आदी सबैको सहयोगबाट भोजन ब्यवस्थापन कार्यलाई अझै सुब्यवस्थित रुपमा सामाजिक दुरीलाई विशेष महत्व दिएर अभियान जारी राख्न सफल भयौं ।’

खाना ब्यवस्थापन संयोजक पौडेल, प्रजातान्त्रिक उद्योगी, ब्यवसायी संघ कोहलपुरका संयोजक मात्रिका सापकोटा, कांग्रेस कोहलपुर ११ का सभापति मोहन चापागाई लगायतले पैदल यात्रुलाई निःशुल्क खाना ब्यवस्थापन गर्न साथ र सहयोग गर्ने सबैप्रति विज्ञप्तीमार्फत धन्यवाद प्रकट गरेका छन् ।

Womui
Womui