४६७५ लाई राहत, ठूला विकास निर्माण र कृषिमूलक कार्यक्रम प्राथमिकतामा

178

खड्क खत्री
बाँके (राप्तीसोनारी), वैशाख १४-

राप्तीसोनारी गाउँपालिकामा बसेको बैठक । तस्बिरः खड्क खत्री

राप्तीसोनारी गाउँपालिकाले अहिलेसम्म ४ हजार ६ सय ७५ जनालाई राहत वितरण गरेको छ भने कोरोना भाइरसका कारण प्रभावित भएको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन ठूला विकास निर्माणका काम र कृषिमूलक कार्यक्रम सुचारु गरेर गाउँवासीको जीवनस्तरलाई सहज बनाउने कार्ययोजना अघि सारेको छ । गाउँपालिका कार्यालय अगैयामा राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार बसेको बैठकमा यस्तो जानकारी गराइएको हो ।

देसमा जारी लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारका लागि गाउँपालिकामा भएका ठूला विकास निर्माणका कामलाई सामाजिक दूरी कायम गरेर सुचारु गर्ने अध्यक्ष लाहुराम थारुले बताए । ‘विकास निर्माणका सबै काम ठप्प हुँदा एकातर्फ गाउँपालिकालाई ठूलो नोक्सानी भइरहेको छ भने अर्कोतर्फ दैनिक ज्याल मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल भएको,’ अध्यक्ष थारुले भने,’ त्यस्तो अवस्था अन्त्यका लागि जिल्ला समन्वय समिति बाँकेसँग आवश्यक समन्वय भइरहेको छ । साथै आर्थिक संकट निम्तिने खतरालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र छिटो उत्पादन हुन सक्ने कृषिमूलक कार्यक्रम ल्याउँदै छौं ।’

लकडाउनबाट प्रभावित परिवारका लागि अहिलेसम्म गरिएको राहत वितरणको समीक्षा र लकडाउनका क्रममा आगामी दिनमा गर्नु पर्ने कार्ययोजनाबारे छलफल गर्न राप्तीसोनारी गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले अहिलेसम्म १४ हजार ८ सय ४९ केजी चामल, २ हजार ६ सय ३४ केजी दाल,  ७ सय ८८ केजी नुन, एक हजार एक सय एकतीस लिटर खानेतेल र ९ सय ८५ थान साबुन वितरण गरेको जानकारी दिए । त्यस्तै छिमेकी नेपाल भारत सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी बलका लागि छाता, टर्च, मास्क तथा स्यानिटाइजर सहयोग उपलब्ध गराएको, स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिइ, इन्फारेड थर्मोमिटर, हाते पन्जालगायतका उपकरणको व्यवस्था गरिएको र विदेश तथा जिल्ला बाहिरबाट आएका मानिसको लगत लिइ अद्यावधिक भइरहेको बताउँदै उनले भने,‘गाउँपालिकाका सबै घरधुरीलाई साबुन, तेल र नुन वितरणको काम सम्पन्न भइसकेको र अति गरिब तथा विपन्न परिवारका लागि चामलसहितको राहत प्याकेज वितरण गर्ने निर्णय भएको छ ।’ राहत प्राप्त गर्ने अति गरिब तथा विपन्नको तथ्यांक इन्ट्री गर्ने र स्थानीय प्रहरी, रेडक्रस, राजनीतिक दल लगायतसँग समन्वय गरेर वडामार्फत राहत वितरणलाई प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ ।

गाउँपालिकाको लामो भाग पूर्व पश्चिम राजमार्गमा पर्ने र विभिन्न जिल्लाबाट आफ्नो क्षेत्रमा आएका अलपत्र पैदल यात्रुलाई दिनहुँ सवारी साधनको व्यवस्था गरी गाउँपालिकाको अन्तिम सीमामा छोडिदिने गरिएको जानकारी गराउँदै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी दिनमा लकडाउनको अवधिभर यस कार्यलाई प्रभावकारी ढंगले निरन्तरता दिने बताइन् ।

बैठकमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय सुरक्षा निकायका प्रमुख, रेडक्रसका प्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।

Womui
Womui