राप्तीसोनारी गाउँपालिका विपद व्यवस्थापन समितिको महत्वपूर्ण निर्णय

109


बाँके (राप्तीसोनारी), वैशाख १४-
राप्तीसोनारी गाउँपालिकाको विपद ब्यवस्थापन समितिले महत्वपुर्ण निर्णय गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् स्थानीय विपद ब्यवस्थापन समितिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार गाउँपालिका कार्यालय अगैयामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको संक्रमणका कारण सरकारले गरेको लकडाउनबाट प्रभावित परिवारका लागि अहिलेसम्म गरिएको राहत वितरणको समिक्षा गर्नुका साथै अहिलेसम्म राहत वितरणको काम सन्तोषजनक रहेको निस्कर्ष निकालेको छ ।

यस्तै बैठकमा राहत वितरणका क्रममा भएका अप्ठ्यारा तथा गर्नुपर्ने कामबारे बिस्तृत रुपमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । गाउँपालिकाभरी रहेका सबै घरधुरीलाई साबुन, तेल र नुन वितरणको काम सम्पन्न भइसकेको र अति गरिब तथा विपन्न परिवारका लागि चामलसहितको राहत प्याकेज वितरण गर्ने निर्णय बैठकले गरेको उनले बताए । राहत प्राप्त गर्ने अति गरिब तथा विपन्नको तथ्यांक इन्ट्री गर्ने र स्थानीय प्रहरी, रेडक्रस, राजनीतिक दल लगायतसँग समन्वय गरेर वडामार्फत राहत वितरणलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ,’ बस्नेतले भने ।

कोरोना भाइरसको संक्रमणका कारण राप्तीसोनारी गाउँपालिकासहित देशभरका विकास निर्माणका काम ठप्प भएका छन् । कोरोना भाइरसका कारण अवरुद्ध भएका ठुला विकास निर्माणका कामलाई सामाजिक दुरी कायम गरेर अगाडी बढाउने निर्णय विपद ब्यवस्थापन समितिको बैठकले गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । ‘अहिले विकास निर्माणका सबै काम ठप्प भएको स्थिती छ, अब चाही सामाजिक दुरी कायम गरी सुरक्षा सतर्कता अपनाएर ठुला विकास निर्माणका काम अगाडी बढाउने विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ,’ अध्यक्ष थारुले भने । यसका लागि जिल्ला समन्वय समिति बाँकेसँग आवश्यक समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको उनको भनाई छ ।

यसैगरी कोरोना भाइरसका कारण आर्थिक संकट निम्तिने खतरालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र छिटो उत्पादन हुन सक्ने कृषि मुलक कार्यक्रम ल्याउने निर्णय बैठकले गरेको अध्यक्ष थारुले जानकारी दिए । सो क्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय सुरक्षा निकायका प्रमुख, रेडक्रसका प्रतिनिधी, राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui