लकडाउनको मौका छोप्दै काठ तस्कर सक्रिय

75

खड्क खत्री

बाँके (राप्तीसोनारी), वैशाख १३–

तस्करीका लागि लुकाएर राखिएको सालको गोलिया । तस्बिरः खड्क खत्री

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनको मौका छोप्दै काठ तस्कर सक्रिय भएका छन् ।  लकडाउनमा मानिसको आवतजावत नहुने र सहजै काठ तस्करी गर्न सकिने भएकाले अहिले काठ तस्करहरु राप्तीसोनारीका सामुदायिक वन र राष्ट्रिय वनमा सक्रिय भएका हुन् ।

शम्सेरगन्ज सव डिभिजन वन कार्यालयका अनुसार काठ तस्करीमा अधिकांश स्थानीयवासी र भारतीय नागरिकको सङ्लग्नता रहेको पाइएको छ । उनीहरुले  सामुदायिक वनमा कटान गरिएको काठ र राष्ट्रिय वनबाट हरियो बहुमूल्य रुख काटेर फर्निचर उद्योगलाई बिक्री गर्ने गरेका छन् । अवैध रुपमा कटान गरिएका त्यस्ता काठ नेपालगन्ज र भारतमा  सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको बताइएको छ ।

लकडाउनका बेला काठ तस्करी गरेर कमाउने दाउमा रहेका तस्करहरुले  लुकाएको अवस्थामा शुक्रबार राप्तीसोनारी २ मदुवा नदी किनारमा ३ वटा सालका गोलिया फेला परेको शम्सेरगन्ज सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजबहादुर चौधरीले बताए । लकडाउनको मौका छोपी राप्तीसोनारीका सामुदायिक वनमा काठ तस्करी गर्ने क्रम बढेको उनले बताए । सामुदायिक र राष्ट्रिय  वन क्षेत्रमा लकडाउनमा घाँस दाउरा गर्ने बहानामा वनमा पस्नेको सङ्ख्या ह्वातै बढेको स्थानीयवासी बताउँछन् । राप्तीसोनारीका सामुदायिक वनमा कटान गरिएका रूखका काठ पनि अहिले धमाधम चोरी तस्करी भइरहेको छ । अन्य वनको तुलनामा सामुदायिक वनमा अहिले चोरी निकासी बढेको सहायक वन अधिकृत चौधरीले बताए । घाँस दाउराको बहानामा जङ्गल पस्ने र सालका लाथ्राहरू कटान गर्ने गरेको पाइएको उनले बताए । ’हामी रातको समयमा पनि गस्ती गरिरहेकै छौँ”,उनले भने, ‘वन फँडानी र चोरीनिकासी गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’

Womui
Womui