डुडुवाको आन्तरिक कोषमा १३ लाख ८० हजार

55

छिनछिन खबर
बाँके (डुडुवा), वैशाख १२–


बाँके डुडुवा गाउँपालिकाको आन्तरिक कोषमा रु १३ लाख ८० हजार १ सय ६६ नगद जम्मा भएको छ । कोषमा प्रदेश नं. ५, गाउँपालिकाका कर्मचारी तथा विभिन्न संघसंस्थाले राहत स्वरुप नगद जम्मा गरेका हुन् ।
प्रदेश नंं ५ सरकारबाट १० लाख, गाउँपालिकाका कर्मचारीहरुको तीन दिनको पारिश्रमिकबाट संकलित ३ लाख ३९ हजार १ सय ६६, बागेश्वरी असल शासन क्लबबाट १० हजार, स्याक बाँकेबाट १० हजार, बि ग्रुप नेपालगन्जबाट १० हजार र समाजसेवी केशवराम बर्माले ११ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनका अनुसार एनआइसी एसिया बैंकबाट ५० हजार बराबरको खाद्यान्न, प्रदेश सांसद कृष्ण केसी नुमनाबाट ८६ हजार रुपैयाँ बराबरको खाद्यान्न, सहकर्मी समाजद्वारा एक सय परिवारलाई पुग्ने खाद्यान्न, स्वास्थ्यका लागि सक्षम प्रणाली बाँकेबाट एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री, दलित महिला संघद्वारा खाद्यान्न सहयोग, बाँके युनेस्को क्लबद्वारा २०० मास्क सहयोग प्राप्त भएको छ ।


गाउँपालिकालाई संघीय सरकारबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । विश्वव्यापी रूपमा महामारीको रूप लिएको कोरोना भाइरस (कोबिड–१९) को संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी मजदुर, विपन्न, असहाय, गरिबहरुलाई राहत वितरण गर्ने, गाउँपालिकामा उच्च सर्तकता अपनाउन, तथा विभिन्न सामग्री खरिदलगायतमा खर्च गरिने उद्देश्यले रकम जम्मा गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपालिकालाई व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने क्रम बढ्दै गएको छ ।
यसैबीच गाउँपालिकाले सुरु गरेको मजदुर तथा अति विपन्न परिवारलाई राहत वितरणको कार्य जारी राखेको छ । वडा नंं ५ र ४ मा अहिलेसम्म ४६२ जनालाई राहत वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

Womui
Womui