राप्तीसोनारीद्वारा तीन हजारबढी पैदल यात्रीको उद्धार

140

बाँके(राप्तीसोनारी), बैशाख ८-
पुर्वपश्चिम राजमार्गमा अलपत्र परेका पैदल यात्रीलाई उद्धार गरी आफ्नो सिमा कटाउने कामलाई राप्तीसोनारी गाउँपालिकाले निरन्तरता दिइरहेको छ । गाउँपालिकाले गत बिहीबारबाट राजमार्गका पैदल यात्रीलाई उद्धार गर्न सुरु गरेको हो । बाँके र दाङको सिमाक्षेत्र शिवखोलासम्म आइपुगेका पैदल यात्रीलाई गाउँपालिकाले ट्रक र ट्याक्टरमार्फत कोहलपुरसम्म पुर्याउने गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुका अनुसार सोमबार पनि गाउँपालिकाले ६ सय ४८ जनाको उद्धार गरी कोहलपुरसम्म पुर्याएको छ ।

गाउँपालिकाले बिहीबारबाट अहिलेसम्म ३ हजारभन्दा बढी ब्यक्तिको उद्धार गरिसकेको उनले बताए । ‘आज मात्रै ६ सय ४८ जनालाई हामीले कोहलपुरसम्म पुर्याउने काम गरेका छौं, अहिलेसम्म ३ हजारभन्दा बढीको उद्धार भइसकेको छ,’ अध्यक्ष थारुले भने ‘फरक–फरक दिनमा फरक संख्यामा उद्धार गरेका छौं, कुनैदिन ८ सय, कुनैदिन ६ सय, कुनैदिन ५ सयको उद्धार भइरहेको छ ।’ गाउँपालिकाले थालेको अभियानलाई स्थानीय प्रहरीले पनि सहयोग गरेका छन् । उपाध्यक्ष धनीकुमारी खत्रीले पनि दिनहुँजसो आफु चढ्ने गाडीमा पैदल यात्रुको उद्धार गर्दै आएकी छन् ।

राजमार्ग क्षेत्रमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले पनि सहयोग गर्न थालेका छन् । राप्तीसोनारीले उद्धार गरेर कोहलपुरसम्म पुर्याएका पैदल यात्रीलाई कोहलपुर नगरपालिकाको समन्वयमा बाँके र बर्दियाको सिमाक्षेत्र मानखोला र सुर्खेतको सिमाक्षेत्र बबईसम्म पुर्याउने गरिएको कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी चौधरीले बताइन् । कोहलपुर चौराहामा नेपाली कांग्रेस र प्रजातान्त्रिक उद्योगी, ब्यापारीले खाना खुवाउनुका साथै यातायात साधनको ब्यवस्थापन पनि गरेर बाँकेको सिमासम्म पुर्याउने गरेका छन् ।

Womui
Womui