राष्ट्रपतिले जारी गरिन् मन्त्रिपरिषदले पारित गरेका अध्यादेश

127

काठमाडौं, बैशाख ८-
मन्त्री परिषदले पारित गरेका दुई वटा अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले सोमबार बेलुकी पारित गरेकी हुन् ।

यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

मन्त्रिपरिषदले उक्त अध्यादेश पारित गरेको केही घन्टा नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

Womui
Womui