बाँकेमा मधेसी मोर्चाको नाकाबन्दी

41

छिनछिन खबर
नेपालगन्ज, भदौ १५
बाँकेमा झण्डै तीन सातादेखि आन्दोलन गर्दै आएको मधेसी मोर्चाले थप दवाव दिन नाकाबन्दी सुरु गरेको छ । सोमबार दिनभर जमुनाहा नाका ठप्प पारेका मोर्चाले आज मंगलबार पनि विभिन्न ठाउँमा नाकाबन्दीलाई जारी राखेको जनाएको छ । नेपालगन्ज प्रवेश गर्ने चार वटा नाका आफ्नो नियन्त्रणमा रहेको मोर्चाले जनाएको छ ।

संयुक्त थरुहट मधेस संघर्ष समिति बाँकेका प्रवक्ता पशुपति दयाल मिश्रले आफुहरु नाका बन्दीमा सक्रिय रहेको बताए । मोर्चाले यसअघि सोमबार दिनभर नेपाल–भारत जमुनाहा नाका ठप्प पारेको थियो । ठुलो संख्यामा उपस्थित भएका मोर्चाका कार्यकर्ताहरु परिचालित भएर नाका ठप्प पारेका हुन् । उनीहरुले बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म साईकल, रिक्सा, इलेक्ट्रीक रिक्सा, टांगा कुनैपनि चल्न दिएनन् ।
सिमा क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज, प्रहरी नायव निरिक्षक विष्णु गिरीले आन्दोलनरत मधेसी मोर्चा पछिल्ला दिनमा नाकामा केन्द्रित हुन थालेको बताए । नाकाबन्दीका कारण सिमा ओहोर दोहोर गर्ने सर्वसाधारण मर्कामा परेका छन् । आन्दोलनकारी नाकामा केन्द्रित भएका कारण नेपालगन्ज बजार भने सामान्यतर्फ उन्मुख भएको छ । यहाँका बजार अधिकांस खुलेका छन् । नगरको सदरलाईन, त्रिवेणी मोड, घरबारी टोल, धम्बोझी, पुष्पलाल चोक, बसपार्क लगायत क्षेत्रमा अधिकांस पसल खुलेका छन्, भने रिक्सा, इलेक्ट्रीक रिक्सा निर्वाध रुपमा चलेका छन् । नगर क्षेत्रमा मोर्चाका कार्यकर्ता अचेल देखिन छाडेका छन् ।

Womui
Womui