खैरेनीको क्वारेन्टाइनमा ८ जनालाई राखियो, गाउँमा कोरोनाको त्रास !

131

‘कोरोना भाइरसको सन्त्रास फैलिरहेको अवस्थामा बाहिरबाट फर्केर आएका ब्यक्तिहरु गाउँमा अहिले धेरै छन्, कतिपयलाई गाउँमा बस्न समेत दिइएको छैन, त्यस्ता ब्यक्तिहरु विभिन्न स्कुलमा बसेका छन्, गाउँपालिकाले उनीहरुलाई दाल, चामल, नुन, तेलको ब्यवस्था गरिरहेको छ’ : लाहुराम थारु

बाँके(राप्तीसोनारी), बैशाख ७-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ को खैरेनीस्थित आश्रय भवनको क्वारेन्टाइनमा ८ जना बसेका छन् । काठमाडौंबाट फर्केर घर आइपुगेका उनीहरुलाई स्थानीय बासिन्दाले गाउँमा बस्न नदिएपछि क्वारेन्टाइनमा आएर बसेका हुन् । यही शुक्रबारबाट क्वारेन्टाइनमा बस्न सुरु गरेका ८ जनालाई राप्तीसोनारी गाउँपालिकाले सम्पुर्ण ब्यवस्थापन गरिरहेको अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

काठमाडौतिरबाट फर्केर आएका उनीहरुलाई घरमा बस्न नदिएपछि क्वारेन्टाइनमा आएर बसेका छन्, हामीले क्वारेन्टाइनमा सबै ब्यवस्था मिलाएका छौं,’ उनले भने । यसअघि उक्त क्वारेन्टाइनमा भारतबाट काम गरेर फर्केका १५ जना बसेका थिए । उनीहरुको कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । अहिले काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लामा कामका लागि पुगेका राप्तीसोनारीका ठुलो संख्याका ब्यक्ति गाउँ फर्केका छन् ।

गाउँमा फर्केका उनीहरु आफ्नो घरमा समेत पुग्न पाएका छैनन् । त्यसरी गाउँ फर्केका ब्यक्तिहरु राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ सहित विभिन्न वडामा सयौंको संख्यामा रहेको गाउँपालिका अध्यक्ष थारुले बताए । ‘कोरोना भाइरसको सन्त्रास फैलिरहेको अवस्थामा बाहिरबाट फर्केर आएका ब्यक्तिहरु गाउँमा अहिले धेरै छन्, कतिपयलाई गाउँमा बस्न समेत दिइएको छैन,’ उनले भने ‘त्यस्ता ब्यक्तिहरु विभिन्न स्कुलमा बसेका छन्, गाउँपालिकाले उनीहरुलाई दाल, चामल, नुन, तेलको ब्यवस्था गरिरहेको छ ।’

Womui
Womui