मुक्ती सेनाका कमाण्डर तामाङको निधन, कांग्रेस सभापति कोइराला सहितले दिए श्रद्धाञ्जली

159

नेपालगन्ज, बैशाख ७-
तत्कालिन निरंकुश राणा शासन विरुद्ध २००७ सालमा नेपाली कांग्रेसले गरेको आन्दोलनका मुक्ती सेना कमाण्डर श्यामकुमार तामाङको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोस्थित निवासमा शनिबार राती १ बजे निधन भएको हो । ‘उमेरले च्याप्दै गएका कारण बुवाको स्वास्थ्य अवस्था कमजोर थियो, राती बुवालाई एक्कासी समस्या आयो, एकैछिनमा निधन भयो,’ जेठा छोरा सरोजकुमार तामाङले भने । नेपाली कांग्रेसले तत्कालिन राणा शासनको विरुद्ध थालेको आन्दोलनमा उनी अग्र मोर्चामा होमिएका थिए ।

कांग्रेसले श्यामकुमारलाई तत्कालिन क्रान्तिको कमाण्डरको जिम्मा दिएको थियो । प्रजातन्त्र पुर्नस्थापना पश्चात उनले नेपाल प्रहरीमा प्रवेश गरी सेवा गरेका थिए । नेपाल प्रहरीका भुतपुर्व प्रहरी उपरीक्षक(एसपी) समेत रहेका तामाङका तीन छोरा र दुई छोरी छन् । जेठा छोरा सरोजकुमार वन कर्मचारीबाट सेवा निवृत्त भइसकेका छन्, भने माइलो छोरा उदय र कान्छो छोरा डम्बर पनि नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक(डिएसपी) बाट सेवा निवृत्त भइसकेका छन् । २००७ सालका क्रान्तिका साक्षी तामाङको निधनले नेपालगन्जबासी स्तब्ध बनेका छन् । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले २००७ सालको क्रान्तिका कमाण्डर तामाङको निधनले स्तब्ध बनाएको बताइन् । उनले भनिन्, ‘निरंकुश राणा शासनलाई फाल्न नेपाली कांग्रेसले गरेको क्रान्तिमा प्रत्यक्ष योगदान दिनु भएका श्यामकुमार तामाङ अब हामीमाझ रहनु भएन, उहाँको निधनले सिंगो कांग्रेस पार्टी स्तब्ध भएको छ, उहाँको योगदानलाई कांग्रेस पार्टीले कदापी भुल्ने छैन ।’

कारकाँदोस्थित तामाङको घरमा कांग्रेस जिल्ला सभापति कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, कांग्रेस जिल्ला सदस्य सुधान्सु कोइराला, ब्यापारी एवम् समाजसेवी गोपाल अधिकारी, सञ्जय थापा, कांग्रेसका अन्य नेता, नेपाल प्रहरीका अधिकारी, भुतपुर्व प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । सो क्रममा श्रद्धाञ्जली ब्यक्त गरियो । पुर्वप्रहरी उपरीक्षक(एसपी)तामाङप्रति उच्च सम्मान गर्दै नेपाल प्रहरीले सलामी दिएको छ । स्वर्गिय तामाङको आइतबार बाँकेको कम्दीस्थित सिधनियाघाटमा अन्त्यष्टी गरिनेछ ।

Womui
Womui