लकडाउननै हाम्रो सुरक्षाकवच होः अध्यक्ष लाहुराम थारु

105

विश्वका वैभवशाली राष्ट्रसमेत कोरोनाबाट आक्रान्त भएको अवस्थामा हाम्रोजस्तो विकासोन्मुख देशलाई बचाउने जिम्मेवारी सम्पूर्ण नागरिकको भएको बताउँदै अध्यक्ष थारुले केही स्थानमा सरकारले जारी गरेको लकडाउनलाई बेवास्था गर्दै आफ्नै मनोमानी तवरले आफूखुसी क्रियाकलाप गरेकोमा चिन्ता व्यक्त गरे ।

खडक खत्री

बाँके (राप्तीसोनारी), वैशाख २–

विश्वमा दिन प्रतिदिन महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोबिड–१९) बाट लकडाउनले नै बचाउने राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । देशलाई कोरोनाको संक्रमणबाट जोगाउने सुरक्षाकवच लकडाउन भएको बताउँदै अध्यक्ष थारुले सरकारद्वारा आह्वान गरिएको लकडाउनको पूर्णरुपमा पालना गर्न देशवासीलाई आग्रह गरेका हुन् ।

सरकारको निर्देशनलाई सामान्य रुपमा लिँदै अझै पनि कतिपय मन्दिर, मस्जिद, चर्च र सार्वजनिक स्थलमा धेरै संख्यामा मानिस उपस्थित हुने, सामाजिक दूरी कायम नराख्नेलगायतका लापरबाही गरेको देखिएको र सुनिएकोले त्यस्तो नगर्न अध्यक्ष थारुले आग्रह गरेका छन् ।

रोग लागिसकेपछि उपचार गराउन भन्दा रोगनै नलाग्नु दिनु राम्रो भएको बताउँदै कोरोना भाइरसको महामारीसँग लड्न तत्कालका लागि लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम राख्नु नै निर्विकल्प उपाय भएको उनले बताए । कोरोना भाइरसविरुद्धको लडाइँ जित्न भौतिक रुपमा सामाजिक दूरी कायम राख्दै समाजमा एकताको मिसाल दिनु पर्ने अहिलेको मुख्य आवश्यकता भएको बताउँदै अध्यक्ष थारुले भने,‘ जो जहाँ छौं त्यहीँ बसौं । यस्तो जोखिमपूर्ण अवधिमा कोही विदेशी नागरिक वा विदेशबाट आएर हाम्रो छरछिमेकमा आश्रय लिएर बसेको भए उनीहरुलाई सम्बन्धित क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनेतर्फ हामी केन्द्रित हुनुपर्छ ।’

कोरोना भाइरस संक्रमणको जोखिममा रहेका व्यक्तिहरूको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गर्न अध्यक्ष थारुले अनुरोध गरे । विश्वका वैभवशाली राष्ट्रसमेत कोरोनाबाट आक्रान्त भएको अवस्थामा हाम्रोजस्तो विकासोन्मुख देशलाई बचाउने जिम्मेवारी सम्पूर्ण नागरिकको भएको बताउँदै अध्यक्ष थारुले केही स्थानमा सरकारले जारी गरेको लकडाउनलाई बेवास्था गर्दै आफ्नै मनोमानी तवरले आफूखुसी क्रियाकलाप गरेकोमा चिन्ता व्यक्त गरे ।

लकडाउन’का कारण ,अतिविपन्न ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग तथा असहाय परिवारहरुमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव हुन नदिन त्यस्ता परिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका मार्फत् एकद्वार प्रणाली अन्तर्गत राहत सामग्री सम्बन्धित स्थानीय निकायको क्विक रेस्पोन्स टिमले घरमै गएर धमाधम राहत वितरण गरिरहेको परिप्रेक्ष्यमा राप्तीसोनारी गाउँपालिकाले पनि प्रभावकारी रुपमा समस्यामा परेका गाउँपालिकावासीलाई राहत वितरण गरिरहेको जानकारी दिए । कोरोना भाइरसविरुद्ध गाउँपालिकाले विशेष रुपमा अभियान सञ्चालन गरेकोसमेत अध्यक्ष थारुले बताए ।

त्यस्तै संक्रमणको यस्तो कठिन परिस्थितिमा सरकार, महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाको एक्लो प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ जित्न नसकिने बताउँदै अध्यक्ष थारुले सबै देशवासी एक भएर कोरोनाविरुद्धको लडाइँमा फत्ते हासिल गर्नु पर्ने बताए । उनले सरकारद्वारा वितरण भइरहेको राहत कार्यक्रममा व्यक्तिगत वा संस्थागत रुपमा सहयोग गर्न चाहने सबैलाई एकद्वार प्रणालीबाट सहयोग गर्न आग्रहसमेत गरे ।

Womui
Womui