क्वारेन्टाइनमा बसेका ब्यक्तिमा कोरोना भाइरस नेगेटिभ

55

बाँके(शम्शेरगन्ज), बैशाख २-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगन्जस्थित शिवशक्ती माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बसेका ब्यक्तिको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको छ । राप्तीसोनारी गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरेपछि उनी केहीदिन देखी त्यहाँ बस्दै आएका थिए । क्वारेन्टाइनमा मंगलबार स्वास्थ्यकर्मीले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखिएको वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए । ‘र्यापिड किटबाट कोरोना जाँच गर्दा नेगेटिभ आयो,’ उनले भने ‘रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई बिदा गरियो, एक हप्तासम्म घरमा सुरक्षित भएर बस्न सल्लाह दिएका छौं ।’

यसैबीच काठमाडौं र स्याङजाबाट आएर शम्शेरगन्जस्थित क्वारेन्टाइनको सम्पर्कमा आएका १० जना ब्यक्तिलाई पनि बिदाई गरिएको छ । कतै पैदल र कतै गाडी चढेर सोमबार राती शम्शेरगन्ज आइपुगेका उनीहरुलाई गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र प्रहरी मिलेर क्वारेन्टाइनमा राख्नु भएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको ज्वरो जाँच गर्दा कुनै लक्षण नदेखिएपछि घर पठाइएको वडा अध्यक्ष बस्नेतले जानकारी दिए । मंगलबार बिहान गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष खत्री, वडा अध्यक्ष खुमबहादुर बस्नेत लगायतको उपस्थितीमा ज्वरो जाँच गरिएको थियो । ज्वरो जाँच गर्दा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाइएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का ४ जना रहेका छन् ।

Womui
Womui