बाख्राको खोर र शौचालयमा चामल लुकाएर राहत माग्दै

329

‘यस्तो कठिन परिस्थितीमा पनि हामीले जनता भोकै होलान् भनेर घर–घरमा पुर्याउने काम गरिरहेका छौं, जनताले चाही बद्मासी गर्न थाले’ : वडाअध्यक्ष  बस्नेत 

बाँके ( राप्तीसोनारी ), बैशाख २-
कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट अति प्रभावित भएका परिवारलाई राहत वितरण गर्दा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा अनौठा घटना देखा परेका छन् । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेत सहितको टोलीले मंगलबार पेरानी, खल्ला गाउँ लगायत स्थानमा राहत वितरण गर्दा अनौठा घटना देखिएका हुन् । जसको घरभित्र चुलो बल्न पाएको छैन, त्यस्ता अतिपरिवारलाई घरमै पुगेर राहत बाँड्ने गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न जनप्रतिनिधीले केहीदिन यता घरदैलोमार्फत राहत वितरणको काम गर्दै आएका छन् । तर, मंगलबार यहाँ यस्ता दृश्य देखिए, जसले राहत वितरण गर्न पुगेका जनप्रतिनिधीलाई चकित बनायो ।

घरदैलोका क्रममा केही स्थानीयले घरभित्र भएको चामल शौचालय र बाख्राको खोरमा लुकाएको फेला परेको हो । वडा नम्बर ८ का वडा अध्यक्ष बस्नेतले राहत वितरणको क्रममा घरदैलोमा पुग्दा दुई जना मध्ये एक जनाले बाख्राको खोरमा र अर्काले शौचालयमा चामल लुकाएर राहत मागेको बताए । ‘घरमा रहेको दुई बोरी चामल शौचालय र बाख्राको खोरमा लुकाएर हामीसँग उहाँहरुले राहत माग्नु भयो,’ बस्नेतले भने ‘शंका लागेर शौचालय र बाख्राको खोरतिर हेर्दा त चामलका बोरा पो भेटिए ।’

लुकाएको चामल फेला परेपछि ती ब्यक्तिहरु लज्जित भएका थिए । उक्त टोलीले दुबै ब्यक्तिको नाम टिपेको र उनीहरुलाई आगामी दिनमा निगरानीमा राख्ने वडा अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘यस्तो कठिन परिस्थितीमा पनि हामीले जनता भोकै होलान् भनेर घर–घरमा पुर्याउने काम गरिरहेका छौं, जनताले चाही बद्मासी गर्न थाले ।’ जनताको यस्ता कृयाकलापले राहत वितरणमा कठिनाई हुने बस्नेतले बताए । घरदैलोका क्रममा कतिपय ब्यक्तिले अबैध रुपले मदिरा बनाइरहेको पनि टोलीले फेला पारेको छ ।

‘देश लकडाउनको अवस्थामा छ, यस्तो बेलामा खाद्यान्न जोगाएर राख्नुपर्ने हो, तर कतिपयले त घरमा रक्सी बनाउने काम पनि गरिरहेका रहेछन्, जनतामा चेतना नै भएन,’ उनले भने । जो भोकै छ, उनीहरुलाई मात्र अहिले प्राथमिकतामा रहेको भन्दै बस्नेतले राहत वितरणमा झुटो नबोल्न वडाबासीलाई आग्रह गरेका छन् । वडा नम्बर ८ मा १ सय ६० परिवारलाई पुग्ने राहत सामाग्री स्टक रहेको र अहिलेसम्म एकदमै समस्यामा रहेका २२ परिवारलाई वितरण गरिसकेको बस्नेतले जानकारी दिए ।  राहत वितरणका क्रममा प्रहरी, रेडक्रस, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui