कोहलपुर १४ मा राहत वितरणभित्र लुकेको वास्तविकता

164

‘राहत पाएपछि अहिले पीडित परिवारको घरमा दैनिक रुपमा चुलो बल्न थालेको छ ।’

कोहलपुर, चैत ३०-
कोहलपुर नगरपालिका वडा नम्बर १४ ले अति गरिब, विपन्न तथा असहाय गरी १ सय ५० परिवारलाई राहत वितरण गरेको छ । वडा कार्यालयले यसअघि ३ सय ८८ जनाको तथ्यांक संकलन गरेकोमा १ सय ५० परिवारलाई राहत वितरण गरिसकेको वडा अध्यक्ष टेक चन्द हरिजनले जानकारी दिए । वडा कार्यालयले राहत वितरणका लागि वडा स्तरमा रहेका जनप्रतिनिधीबीच कार्य विभाजन गरेको थियो । के.एल. दुगड गु्रप पार्वतीपुरले उपलब्ध गराएको राहत सामाग्रीलाई वडाका जनप्रतिनिधी मिलेर वितरण गरेका हुन् । त्यस्ता परिवारलाई चामल, दाल, पिठो, चना र धारा तेल वितरण गरिएको छ ।

वडा अध्यक्ष हरिजनको पहलमा के.एल. दुगड गु्रपले उक्त सामाग्री उपलब्ध गराएको थियो । वडा कार्यालयले स्थानीय राम माध्यामिक बिद्यालयबाट ८९ प्याकेट र बाँकी बचेको ६१ प्याकेट मध्ये वडा अध्यक्ष हरिजनले ३२, कार्यपालिका सदस्य शान्ति सुनारले १३ र वडा सदस्य रुक्मीना शर्माले १६ प्याकेट राहत सामाग्री विभिन्न टोललाई वितरण गरेका हुन् । राहत पाउँदा अति गरिब, विपन्न तथा असहाय परिवार हर्षित भएका छन् । स्थानीय बासिन्दा गोपाल चमारले वडा कार्यालयले आफु जस्ता वास्तविक पीडितलाई राहत दिएर पीडामा मल्हम लगाउने काम गरेको प्रतिक्रिया दिए । ‘वडा कार्यालयले हामी जस्ता वास्तविक पीडित परिवारलाई राहत बाँडेको छ, तर घरभित्र टन्न अन्नपात भएका ब्यक्तिले राहत माग्दा दुःख लाग्छ ।’

अति गरिब, विपन्न तथा असहाय परिवारका लागि आएको राहत सामाग्री आफुहरुले पनि पाउनुपर्ने अडान राख्दै यसअघि वडाका केही ब्यक्तिले वडासदस्य शर्माको घर पुगेर हो–हल्ला गरेका थिए । अति गरिब, विपन्न तथा असहायको लागि आएको राहत वास्तविक पीडितलाई बाँड्ने वडा सदस्य शर्माको योजना थियो । वडा कार्यालयले लकडाउनको पालना गर्ने, भिडभाड नगर्ने र आफुलाई पायक पर्ने ठाउँमा वितरण गर्ने भनि केही राहत सामाग्री जनप्रतिनिधीको जिम्मा लगाएपछि उनले सुरक्षाका हिसाबले १६ प्याकेट आफ्नै घरमा लगेर राखेकी थिइन् ।
भोलीपल्ट बिहानै वितरण गर्ने योजनामा रहेकी वडासदस्य शर्मामाथी उल्टो आरोप लगाए । जबकी, उनीसँगै राहत सामाग्री बुझेकी कार्यपालिका सदस्य सुनारले भने अघिल्लो रात ९ बजे नै राहत सामाग्री बाँडेकी थिईन् ।

तर, राहत नपाएको नहुँमा केही आक्रोशित ब्यक्तिहरु आएर राहत सामाग्रीका विषयमा आफ्नो चरित्र हत्या गरेको वडा सदस्य शर्माको गुनासो छ । ‘म सँगै राहत सामाग्री बुझेका जनप्रतिनिधी साथीले राती ९ बजे राहत बाँड्नुभयो, त्यतातिर कसैले पनि प्रश्न उठाएनन्, मैले चाही सबैको मौखिक सल्लाह अनुसार भोलीपल्ट वितरण गर्नका लागि घरमा लिएर राहत सामाग्री राखे, वडा अध्यक्षलाई पनि त्यो कुराको जानकारी गराएँ, तर मेरो घरमा एउटा हुल आएर राहत सामाग्री किन घरमा ल्याएर राख्यौं ? भनेर उल्टो प्रश्न गरे,’ शर्माले भनिन् ‘त्यहाँ आउने प्रायःजसो ब्यक्ति राहत नपाउने परिवारका थिए, पछि थाहा भयो, उनीहरु त मेरो चरित्र हत्या गर्नका लागि आएका रहेछन्, तरपनि मैले आफ्नो इमान्दारितालाई कायम राखेको छु, कत्तिपनि बिचलित भएको छैन, म जनताकै सेवामा छु ।’ आफुमाथी राजनीतिक पुर्वाग्रहका आधारमा केही ब्यक्तिले चरित्र हत्या गर्न खोजेको वडासदस्य शर्माको आरोप छ ।

जनप्रतिनिधी भएर काम गर्दा गाली र ताली पाउनु स्वभाविक रहेको भन्दै वडासदस्य शर्मा अहिले आफ्ना वडाका पीडित परिवारलाई राहत वितरण गर्ने कार्यमा झनै सक्रिय भएकी छन् । ‘अहिले पनि राहत वितरणको काममै सक्रिय छु, वडाले वितरण गर्नुपर्ने ३ सय ८८ परिवार मध्ये १ सय ५० जनालाई वितरण गरिसकेका छौं,’ उनले भनिन् ‘बाँकी अति गरिब, विपन्न तथा असहाय परिवारको लागि हामी ब्यवस्था गर्दैछौं ।’ वडा कार्यालयको पहलबाट के.एल दुगड गु्रपले राहत सामाग्री उपलब्ध गराउँदा अति गरिब, विपन्न तथा असहाय परिवारको अहिले दैनिक रुपमा चुलो बल्न थालेको वडा अध्यक्ष हरिजन बताउँछन् । राहत वितरणलाई थप ब्यवस्थित र पारदर्शिताका लागि वडा कार्यालयले राहत पाउने परिवारको भरपाई समेत राखेको छ । कोहलपुर १४ निवासी राधा चिडिमारले वडाबाट राहत पाएपछि अहिले दैनिक रुपमा चुलो बाल्न पाएको बताइन् । ‘वडा कार्यालयले राहत दिएपछि अहिले साँझ बिहानको छाक टरेको छ,’ उनले भनिन् ।

Womui
Womui