पत्रकारलाई राहत प्याकेज ल्याउन प्रदेश सरकारसँग महासंघले गर्‌यो अपिल

167

छिनछिन खबर

नेपालगन्ज, चैत २९–

पत्रकार महासंघ ५ नम्बर समितिले कोरोना भाइरसका कारण समस्यामा परेका पत्रकारहरुलाई राहतको व्यवस्था गर्न प्रदेश सरकारसँग अपिल गरेको छ । १८ दिनदेखि जारी लकडाउनका कारण कैयौँ  सञ्चार गृह संचालन हुन नसकेर सञ्चार प्रतिष्ठानले समेत पारिश्रमिक उपलब्ध गराउन नसक्दा श्रमजीवी पत्रकारलाई दैनिक जीवनपायन गर्न समस्या देखिएकाले पत्रकारलाई राहतको व्यवस्था गर्न पत्रकार महासंघ प्रदेश ५ समितिले अपिल गरेको हो ।

‘यस विषम परिस्थितमा पनि अनेकौ कठिनाइबहन गर्दै आएका सम्पूर्ण श्रमजीवी पत्रकारप्रति आभार प्रकट गर्दै  नेपाल पत्रकार महास‌ंघ प्रदेश ५ समिति अन्तर्गतका कतिपय जिल्ला शाखाले लकडाउनका कारण अप्ठ्यारोमा परेका श्रमजीवी पत्रकारकाे लागि संचालन गरेको राहत कार्यक्रम स्रहानीय रहेको’ विज्ञप्तिमा उल्लेख छ । पत्रकार महासंघ ५ नम्बर समितिले समस्यामा परेका पत्रकारलाई राहत उपलब्ध गराएर उनीहरुलाई उच्च आत्मबलका साथ जिम्मेवारी निर्वाह गर्ने वातावरण प्रदेश सरकारले सिर्जना गरिदिनसमेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

महासंघका महासचिव भेषराज बस्नेतद्वारा हस्ताक्षरित अपिलमा विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरसबारे जनतालाई सुसूचित गराउन पत्रकारले महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिँदै सम्पूर्ण संचारकर्मीलाई सत्य तथ्यमा आधारित समाचार प्रकाशन प्रसारण गर्नसमेत आह्वान गरिएको छ ।

Womui
Womui