राप्तीसोनारी गाउँपालिकाले सुरु गर्‌यो राहत वितरण

194

‘दैनिक ज्याला मजदुरी गर्ने परिवारले ‘खान नपाएको’ भनि वडाका जनप्रतिनिधिलाई फोन गर्ने वित्तिकै आधा घण्टा भित्रमा घरमै राहत सामाग्री पुर्याउने ब्यवस्था गाउँपालिकाले मिलाएको छ ।’

बाँके(अगैया), चैत २९-
राप्तीसोनारी गाउँपालिकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि शनिबारबाट राहत वितरण सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर २ अगैयाबाट राहत वितरण सुरु गरेको हो । यसका लागि गाउँपालिकाले वडा नम्बर ९ वटै वडाबाट करिब ४ हजार परिवारको तथ्यांक संकलन गरेको थियो । ती परिवारलाई प्याकेजसहित राहत वितरणको काम सुरु गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । ‘दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई प्याकेजसहित राहत वितरण सुरु गरेका छौं,’ उनले भने ‘हामीलाई वडाबाट चार हजार बराबर सम्भावित तथ्यांक आएको छ, सोही तथ्यांक अनुसार अब प्रत्येक वडाले राहत वितरण गर्नेछन् ।’

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार दैनिक ज्याला मजदुरी गर्ने परिवारले ‘खान नपाएको’ भनि वडाका जनप्रतिनिधिलाई फोन गर्ने बित्तिकै आधा घण्टाभित्रमा घरमै राहत सामग्री पुर्याउने व्यवस्था गाउँपालिकाले मिलाएको छ । उनले थपे, ‘कसैले खाना खाए पाएन, भोकै बसेको छु भनेर फोन गर्यो भने आधा घण्टाभित्रै उपलब्ध हुने गरी राहत प्याकेज घरमै पुर्‌याउने व्यवस्था मिलाइएको छ, यसका लागि राहत सामग्री वडामा गइसकेको छ ।’ गाउँपालिकाले राहत वितरणका लागि परिवार संख्याको आधारमा तीन प्रकारको प्याकेज बनाएको छ । ‘एक जनाको परिवारलाई चार किलो, चार जनासम्मको परिवारलाई १२ किलो र पाँच जनाभन्दा बढी भएको परिवारलाई १६ किलो चामल तथा त्यसमा दाल, नुन, तेल दिइन्छ,’ बस्नेतले भने ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले राहत वितरणको काम सुरु भइसकेकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारले सम्बन्धित वडामा सम्पर्क गरेर लिन सक्ने बताए । ‘उहाँहरुको सुविधाको लागि हामीले राहत सामग्री घरमै पुर्‌याइदिने व्यवस्था मिलाएका छौं, लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार कोही पनि भोकै नबस्नु होला,’ उनले भने । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन लम्बिँदा राप्तीसोनारी क्षेत्रभित्र दैनिक ज्याला मजदुरी गर्ने परिवारको बिचल्ली भएको छ । लकडाउनबाट प्रभावित गरिब तथा विपन्न परिवारप्रति गाउँपालिका संवेदनशील रहेको अध्यक्ष थारुले बताएका छन् । राहत वितरणको काम व्यवस्थित र पारदर्शी रुपले सञ्चालन गर्न उनले सबै वडाका जनप्रतिनिधिलाई निर्देशनसमेत दिएका छन् । गाउँपालिकाले राप्तीसोनारीका सबै नागरिकका लागि पनि एक लिटर तेल, एक किलो नुन र साबुन दिने भएको छ । लामो समयदेखि चलेको लकडाउनका कारण आर्थिक रुपले सक्षम परिवार पनि बाहिर निस्कन नपाएको हुँदा यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘राप्तीसोनारीका सबै घर परिवारलाई एक लिटर तेल, एक किलो नुन र एउटा साबुन वितरण गरिनेछ,’ बस्नेतले भने ।

Womui
Womui