नरैनापुरको राहत वितरणमा सहयोगी थपिए

33

नरैनापुर, चैत २६
बाँकेको नरैनापुर गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका गाउँवासीलाई एकद्वार प्रणालीबाट मंगलबारदेखि राहत वितरण गर्दै आइरहेको छ । गाउँपालिकाले थालेको यस अभियानलाई सफल बनाउन व्यक्तिगत रुपले सहयोग गर्ने दाताहरु पनि थपिँदै गएका छन् । व्यक्तिगत रूपमा सहयोग गर्नेमा नरैनापुर ४ जयरामपुर बस्ने महेन्द्र माबि मटेहिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनैना मिश्रा, नेराप्राबि जमुनाहाका प्रधानाध्यापक सज्जाक खाँ, महेन्द्र माबि मटेहियाका लेखापाल शिव चरण यादव तथा गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी रहेका छन् ।


सहयोगीदाता प्रत्येकले २० विपन्न परिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न सामग्री सहयोग गर्ने बताएका छन् । सहयोगी चारैजनाले गाउँपालिकाको मापदण्डमा रहेर सहयोग उपलब्ध गराउने बताएका छन् ।
गाउँपालिकाको ६ वटै वडाका ८ सय जना श्रमिक र असहायलाई राहत वितरण गरिरहेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार ६ वटै वडामा एक साथ राहत वितरण सुरु भएको छ । उनका अनुसार सामाजिक दुरी कायम गरेर वडा कार्यालयमार्फत् राहत वितरण भइरहेको छ । साथै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले देखाउनकै लागि अनावश्यक रूपमा राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नराख्न जनप्रतिनिधिलगायत सहयोगीदातालाई सबैलाई कडा निर्देशन पनि दिएका छन् ।
आवश्यकता अनुसार राहत वितरणको दायरालाई फराकिलो बनाउँदै लैजाने लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।

Womui
Womui