प्रयोगशाला बनाउने संघको निर्णय अधूरै, प्रदेशले बनाउने तयारी

176

नेपालगन्ज, चैत २६-
आफैले गरेको निर्णयलाई संघिय सरकारले कार्यान्वयन नगरेपछि प्रदेश पाँच सरकारले नेपालगन्जको भेरी अस्पतालमा ‘कोरोना भाइरस परिक्षण प्रयोगशाला’ स्थापना गर्ने तयारी गरेको छ । सरकारले चैत पहिलो साता काठमाडौंबाहिर नेपालगन्जसहित तीन स्थानमा कोरोना भाइरस परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सरकारका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बैठकले नेपालगन्जको भेरी अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।

आफैले गरेको उक्त निर्णयलाई सरकारले कार्यान्वयन नगरेपछि यहाँका अस्पतालमा संकलन गरिने कोरोना भाइरसका शंकास्पद ब्यक्तिको नमुना(स्वाब)परिक्षणका लागि जहाजमार्फत काठमाडौं पठाउनुपर्ने बाध्यता छ । संकलित स्वाब परिक्षणका लागि काठमाडौं पु¥याउँदा एकातिर राज्यलाई आर्थिक भार परिरहेको छ, भने अर्कोतिर रिपोर्ट प्राप्त गर्न समय धेरै लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । संघिय सरकारले नेपालगन्जमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपनि अन्यत्रै स्थापना गरेपछि प्रदेश सरकारले अहिले बल्ल प्रक्रिया सुरु गरेको छ । कछुवा गतिमा चलिरहेको कोरोना भाइरस परिक्षण प्रयोगशाला निर्माणको काम कहिले सम्पन्न हुन्छ, भन्नेमै अन्यौलता थपिएको छ । पुर्वसभासद एवम् नेपालगन्जका स्थानीय अब्दुल हमिद सिद्धिकी(भोला)ले आफैले गरेको निर्णय कार्यान्वयन नगरेर संघिय सरकारले ‘लाचारीपन’ देखाएको बताए । ‘केन्द्र सरकारले भेरी अस्पतालमा कोरोना जाँचको मेसिन राख्ने निर्णय गर्दा नेपालगन्जले नेतृत्व गरिरहेको यसक्षेत्रका सिंगो जिल्लाबासीहरु खुसी भएका थिए, तर आफैले गरेको निर्णयलाई सरकारले अन्ततः लत्यायो,’ उनले भने ‘यो जस्तो लाचारीपन अरु के हुन सक्छ र ?’ संघिय सरकारले प्रयोगशाला नबनाउने भएपछि प्रदेश सरकारले बनाउन लागेको प्रयोगशालामा पनि ढिलाई भइरहेको भन्दै असन्तुष्टी पोखे । ‘मैले सुने अनुसार प्रयोगशाला सञ्चालन हुन अझै एक हप्ताजति समय लाग्छ रे, नेपालगन्ज अरु धेरै जोखिम ठाउँ हो, प्रयोगशाला छिटो स्थापना गरिनुपर्छ,’ सिद्धिकीले थपे ।

कोरोना भाइरसलाई लक्षित गरेर भेरी अस्पतालले छुट्टै आइसोलेसन कक्ष बनाएको छ । भेरी अस्पतालले अहिलेसम्म ३१ जना शंकास्पद ब्यक्तिको स्वाब परिक्षण गर्न काठमाडौ पठाएकोमा सबै रिपोर्ट नेगेटिभ आएको जनाएको छ । अझै २३ जनाको रिपोर्ट आउन बाँकी छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले संघिय सरकारको प्राथमिकतामा नपरेपछि आफुहरुको अनुरोधमा प्रदेश सरकारले प्रयोगशाला बनाउन लागेको बताए । ‘प्रयोगशालाको सामान आइसकेको छ, अब जडान गर्न बाँकी छ,’ उनले भने ‘प्रयोगशाला कक्षको वाइरिङ र फर्निसिङको काम चलिरहेको छ, सञ्चालन हुन अझै एक हप्ताजति समय लाग्ला ।’ प्रयोगशालाका लागि प्रदेशबाट एक जना कर्मचारी आएको र आवश्यकता अनुसार अस्पतालले पनि कर्मचारी खटाउने बताए । ‘प्रयोगशाला स्थापना भएपछि काठमाडौंको टेकुमा जसरी परिक्षणको भइरहेको छ, त्यसरी हुन्छ,’ थापाले भने ।

Womui
Womui