कोरोना प्रभावित विद्यार्थीलाई घरमै पुगेर कापी र कलम सहयोग

287

नेपालगन्ज, चैत २६-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरका समाजसेवी मोहन गौतमले घर–घरमा पुगेर विद्यार्थीलाई कापी र कलम सहयोग गरेका छन् । उनले आफ्नो व्यक्तिगततर्फबाट ४ सय ९८ जना विद्यार्थीलाई कापी र कलम सहयोग गरेका हुन् । कोरोना भाइरसको त्रासले सरकारले गरेको लकडाउनका कारण विद्यालयहरु अनिश्चित कालका लागि बन्द छन् । विद्यालय बन्द हुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएपछि घरमै बसेर पढ्न गौतमले सहयोग गरेको बताएका छन् ।

जनशक्ति आधारभुत विद्यालय बालापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका उनी समाजसेवा गर्न रुचि राख्छन् । ‘मैले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरका सम्पूर्ण विद्यार्थीलाई मेरो व्यक्तिगततर्फबाट कापी र कलम उपलब्ध गराएर कापीको पहिलो पानामा कोरना भाइरसबाट बच्ने सन्देश लेखी घरमै बसेर पढ्न सम्झाइ बुझाइ गरी गृहकार्य दिएको छु,’ उनले भने । सहयोग पाउने विद्यार्थीहरु जनशक्ति आधारभूत विद्यालय बालापुरसहित शिवशक्ति माध्यामिक विद्यालय शम्शेरगन्ज, गौतम इंगलिस मिडियम स्कुल ओभरी, शम्शेरगन्ज इंगलिस मिडियम स्कुल शम्शेरगन्ज, कोहलपुरमा अध्ययन गर्ने विद्यार्थी रहेको बताइएको छ । विद्यार्थीलाई कापी र कलम वितरण गर्न शिक्षक चेहर सिंहसहित अन्य युवाले समाजसेवी गौतमसँग सहकार्य गरेका थिए ।

कापीकलम पाएका विद्यार्थीले दैनिक गृहकार्य गर्नुपर्ने र साप्ताहिक कपी चेक हुने बताइएको छ। निःशुल्क कापीकलम बाँडिएपछि विद्यार्थीलाई दैनिक किताब पढ्ने र गृहकार्य गर्न बाध्यता हुने विश्वास लिएको समाजसेवी गौतमको भनाइ छ।

 

Womui
Womui