भारत वा विदेशबाट आएकालाई सम्पर्कमा आउन वडा अध्यक्ष ओलीको अनुरोध

79

खड्क खत्री

राप्तीसोनारी, चैत २६

भारत वा विदेशबाट घर आएका व्यक्ति टोल छरछिमेकमा लुकिछिपी बसेका भए स्थानीय निकाय, जनप्रतिनिधि वा सुरक्षा निकायलाई खबर गरिदिन बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंं.२ का वडा अध्यक्ष मदन कुमार ओलीले वडाबासीसँग आग्रह गरेका छन् । साथै वडावासीलाई घरभित्रै क्वारेन्टाइनमा बस्नसमेत उनले अनुरोध गरेका छन् । कोभिड–१९ सङक्रमणको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गरेर विदेश वा भारतबाट आएका कोही भए सम्पर्कमा आउन र वडावासीलाई घरभित्रै बस्न अध्यक्ष ओलीले अनुरोध गरेका हुन् ।

‘यस जटिल परिस्थितिमा धैर्य गर्दै कोभिड –१९ विरुद्ध विजय हासिल गर्न घरमै बसाैं,’ वडा अध्यक्ष ओलीले भने,‘ सरकारले चालेको  महाअभियान सफल पार्ने जिम्मा प्रत्येक देसवासीको हो ।’ उनले थपे,‘सरकारद्वारा जारी निर्देशनको बेवास्था गरी अत्यावश्यक कामबाहेक घरबाहिर जाने र समूहमा जम्मा भइ गफ गर्ने, भारत वा विदेशबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले लुकिछिपी बस्ने जस्ता लापरबाही गरे कोरोनाको संक्रमण पूरै वडामा फैलिएर सम्पूर्ण वडावासी जोखिममा पर्छन्, त्यसैले बाहिबार आएका कोही भए सम्पर्कमा आउन र  अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन वडावासीमा अनुरोध छ ।’

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय सरकारको मातहतमा रहेर वडा तहले वडाबासीहरुलाई सचेत तथा सर्तकताका लागि अभियान सुरु गरेको अध्यक्ष ओलीले बताए । कोरोनाको जोखिमबाट बच्ने उपाय तथा सावधानीबारे वडामा सचेतनामूलक सन्देशसहितको माइकिङ, प्रचारप्रसार सामाग्री व्यानर सार्वजनिक स्थानमा टाँस्ने ,वडाका चोक चोकमा साबुन पानीको व्यवस्थापन तथा माक्स वितरण गरिसकेको अध्यक्ष ओलीले जानकारी दिए ।

सम्पूर्ण वडाबासीलाई जोखिमबाट बच्न तथा सावधानी अपनाउन अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको बताउँदै उनले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अपिल गर्दै वडाले यसबारे थप प्रभावकारी अभियान तथा व्यवस्थापन गर्ने बताए ।

कोरोना संक्रमणको जोखिमबाट बच्ने उपाय तथा सावधानीका लागि आवश्यकता परेको खण्डमा वडा नं. २ मा १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने अध्यक्ष वलीले बताए ।

Womui
Womui