क्वारेन्टाइनमा कुनै असुविधा हुन दिन्नौंः अध्यक्ष थारु

41

खडक खत्री

राप्तीसोनारी, चैत २५–

राप्तीसोनारी गाउँपालिकामा निर्माण भएका क्वारेन्टाइनमा कुनै पनि असुविधा हुन नदिने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । कोरोना भाइरसविरुद्धकाे अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकामा विशेष अभियान संचालन गरेर अघि बढेको समेत अध्यक्ष थारुले बताए । क्वारेन्टाइनमा रहेका व्यक्तिको रायसुझाव लिएर उनीहरुलाई कुनै पनि असुविधा हुन नदिनेतर्फ गाउँपालिका अभियानसाथ अघि बढेको हो ।

राप्तीसोनारीका वडा नं.३ मा रहेको सामुदायिक आश्रय भवन क्वारेन्टाइनमा १५, वडा नं. ७ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय क्वारेन्टाइनमा ८ जना र वडा नंं. ८  शिवशक्ति माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा १ जना गरेर २४ जना क्वारेन्टाइनमा रहेका छन् ।

चोरीको बाटो प्रयोग गर्दै भारतबाट मजदुरी गरेर फर्किएका गाउँपालिकावासीलाई स्वस्फूर्त क्वारेन्टाइनमा बस्ने वातावरण बनाउनका लागि उनीहरुकै रायसल्लाह बमोजिम क्वारेन्टाइन व्यवस्थापनमा गाउँपालिका सक्रिय देखिएको हो । क्वारेन्टाइनमा झुल, खानेपानी, साबुन, निर्धारित मापदण्ड अनुसारको खाजा नास्ता, शौचालय र समयसमयमा  स्वास्थ्य परीक्षणलगायतको व्यवस्था गाउँपालिकाले गरेको अध्यक्ष थारुले जानकारी दिए । यसैगरी भारतीय सीमाबाट अझैं पनि लुकीछुपी घर फर्किरहेको संख्या धेरै भएकाले  सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्थाको प्रबन्ध गरी सीमा नाका आवतजावतमा पूर्णरुपमा प्रतिबन्ध लगाउने अध्क्षय थारुले बताए । संक्रमणको यस्तो कठिन परिस्थितिमा गाउँपालिकाको एक्लो प्रयासले मात्र अभियान सफल नहुने भन्दै अध्क्षय थारुले सहयोगका लागि अग्रसर व्यक्तिगत तथा संस्थागत सबैलाई एकद्वार प्रणालीबाट सहयोग गर्न आग्रह गरे ।

कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण, अतिविपन्न परिवार, ज्याला मजदुरी गरेर खाने वर्ग तथा असहाय परिवारलाई खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव हुन नदिन त्यस्ता परिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई गाउँपालिका मार्फत् एकद्वार प्रणाली अन्तर्गत यथाशीघ्र राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण वडालाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष थारुले बताए । ‘लकडाउन’ का कारण बढी मारमा परेका,अतिविपन्न परिवार, ज्याला मजदुर गरेर खाने वर्ग तथा असहाय परिवारहरुलाई राहत प्याकेज अन्तर्गत २० किलो चामल, २ किलो दाल, १ बोतल खाने तेल तथा १ प्याकेट नुन उपलब्ध गराउँछौं,’ अध्यक्ष थारुले भने ।

गाउँपालिकाले यसअघि ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ समेत स्थापना गरेको छ । अध्यक्ष थारुले कोषमा सक्दो रकम जम्मा गरेर कोरोनाविरुद्ध गाउँपालिकाले थालेको अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेका छन् । उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सहयोग गर्न खोज्ने व्यक्ति, संघ–संघ संस्था तथा उद्योगीहरुले सोझै गाउँपालिका अध्क्षय लाहुराम थारुको ९८५८०२६६८०, उपाध्यक्ष धनिकुमारी खत्री ९८५८०८२२२२, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत ९८६०३०१४७५, वडा अध्क्षय खुमबहादुर बस्नेत ९८५८०२५१२८ र गाउँपालिका  अध्यक्ष स्वकीय सचिव सन्तोष चौधरी ९८५८०२५७२६ मा सम्पर्क गर्न सक्ने बताएका छन् ।

Womui
Womui