सिमामा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा बस्न मानेनन्

461

नेपालगन्ज, चैत २०-
बाँकेका विभिन्न सिमा नाकाबाट प्रवेश हुन खोजेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमा बसाउने स्थानीय प्रशासनको प्रयास असफल भएको छ । स्थानीय प्रशासनले ‘माथीको निर्देशन’ भन्दै नेपालगन्जस्थित नेपाल–भारत सिमा नाकाबाट एक साताअघि आवत–जावत गर्न पुर्ण रुपले रोक लगाएको थियो । बाँकेको जयसपुर, हिरमिनिया, साईगाउँ लगायत अबैध नाकाबाट प्रवेश भएर आएका चार दिनदेखी अलपत्र परेका एक १ सय ८१ जनालाई जमुनाहा–रुपैडिहा हुँदै भारतीय क्वारेन्टाइनमा राख्ने प्रयास गरेपनि उनीहरुले अस्वीकार गरेका हुन् ।

सिमाक्षेत्रमा अलपत्र परेका नेपालीलाई भारतीय क्वारेन्टाइनमा पठाउन नेपालगन्जस्थित जमुनाहामा गएराती ११ बजेसम्म थालेको प्रयास गरेपनि उनीहरु जान नमानेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बीरबहादुर ओलीले भारतीय अधिकारी सिमापारी गाडी ल्याएर आएपनि नेपालीहरु कोही पनि त्यता जान नमानेको बताए । ‘भारतबाट उनीहरुलाई लिन भनेर आएका थिए, तर जानै मानेनन्,’ ओलीले भने । यि मध्ये अशक्त, महिला र बालबालिका गरी ९ जनालाई नेपालगन्ज उपमहानगरपालिकाको विशेष अनुरोधमा महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनामा दुई दिनअघि राखिएको थियो ।

तस्बिरहरु : बिमल चन्द

भारतीय क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका उनीहरु नेपालगन्जस्थित नेपाल–भारत सिमाक्षेत्र दसगजामै बसेका छन् । नेपाल–भारत सिमा क्षेत्र अलपत्र परेका नेपालीलाई नेपालगन्ज उपमहानगरपालिकाले खाना र पानीको ब्यवस्थापन गर्दै आएको छ । उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको अनुरोधमा यहाँका शिख समुदायको ‘लंगर’ बाट बिहीबार खाना खुवाइएको छ । ‘उनीहरुलाई उपमहानगरपालिकाको समन्वयमा आज पनि शिख समुदायले लंगरमार्फत खाना खुवाए,’ थापाले भनिन् ‘पिउने पानी र शौचका लागि उपमहानगरपालिकाको घुम्ती शौचालयको ब्यवस्था गरिदिएका छौं ।’ उनीहरुलाई दसगजाको छेउ(नेपाली भुमी)मा टेण्ट राखेर अस्थायी क्वारेन्टाइन निर्माण गरी १४ दिनसम्म त्यहाँ राख्ने तयारी छ । यसका लागि सशस्त्र प्रहरीले अस्थायी क्वारेन्टाइन बनाउन सुरु गरिसकेको छ ।

Womui
Womui