नरैनापुरमा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना

63

बाँके(नरैनापुर), चैत २०-
कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना गरेको छ । गाउँपालिकाले १५ लाख रुपैयाँको कोष स्थापना गरेर खाता सञ्चालनमा ल्याएको हो । कोषमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गरेका छन् । अध्यक्ष शाहले उक्त कोषमा आफ्नो क्षेत्रबाट रकम जम्मा गरेर विपत्तीमा सहकार्य गर्न अपिल गरेका छन् ।

‘कोरोनाको संक्रमण रोक्न तथा विपन्न बर्गको राहतको लागि कोष स्थापना गरिएको हो,’ उनले भने । गाउँपालिकाको नरैनापुरस्थित सनराइज बैंकको खाता नम्बर ०७४०४८८०८७७०१००५ मा रकम जम्मा गरी सहयोग गरिदिन शाहले आग्रह गरेका छन् । ‘कोरोना विरुद्धको अभियानमा रकमको अभाव हुन नदिन खाता सञ्चालनमा ल्याएका छौं, यो अभियानमा सबैको साथ प्राप्त गर्ने आशा राखेका छौं,’ शाहले थपे । गाउँपालिकाले खोदवाँ, भोजपुर र नेपालगन्जमा क्वारेन्टाइन सञ्चालन गरेको छ ।

क्वारेन्टाइनमा अहिलेसम्म एक सय २९ जना बसेको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिए । भारतमा मजदुरी गर्न गएका नेपाली नागरिक अबैध नाका हुदै आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएको अध्यक्ष शाहले बताए । तथापी, सबैको साथ र सहयोगले क्वारेन्टाइन ब्यवस्थापन गर्न सम्भव हुने औल्याए ।

Womui
Womui