कोरोना संक्रमितमध्ये ५० प्रतिशतलाई कुनै लक्षण देखिएको थिएनः अध्ययन

56

एजेन्सी
न्यूयोर्क–लक्षण नै नदेखिएका बिरामीहरु कोरोना भाइरसको संक्रमणलाई तीव्र रुपमा फैलाउने प्रमुख कारण देखिएको छ । एक अनुसन्धानले यस्तो तथ्य देखाएसँगै अमेरिकी चिकित्सक तथा अनुसन्धानकर्ताले प्रत्येक मानिसलाई अनिवार्य रुपमा फेस मास्क लगाउन सुझाव दिनुपर्छ कि भन्ने कोणबाट सोच्न थालेका छन् । केही टापूहरुमा फैलिएको कोरोना भाइरसका तथ्याङ्कहरुमा आधारित रहेर गरिएको अध्ययनमा ५० प्रतिशत संक्रमित त्यस्ता भेटिए, जसमा कोरोना भाइरसको कुनै लक्षण नै थिएन ।


अमेरिकामै पनि हालसम्म कुल संक्रमितमध्ये २५ प्रतिशत कुनै लक्षण नै नदेखिएकाहरु रहेका अध्ययनको क्रममा देखिएको छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)का डाइरेक्टर डा. रोबर्ट रेडफिल्डलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ– हाम्रो अध्ययनको क्रममा धेरै संक्रमित यस्ता भेटिएका छन्, जसमा कोरोनाको कुनै लक्षण नै थिएन । अमेरिकामै पनि यस्ता संक्रमितको संख्या २५ प्रतिशतभन्दा माथि हुनसक्छ ।’

डा. एन्थोनी फउसीले आफू सर्वसाधारणले पनि फेसमास्क अनिवार्य लगाउनुपर्छ भन्ने तर्कमा सहमत हुँदै गएको बताएका छन् । विज्ञहरुले सामाजिक दूरी कायम गर्नु र लकडाउनलाई कडाइ गर्नुबाहेक तत्काल कोरोना भाइरस नियन्त्रणको गतिलो उपाय समेत नभएको बताइरहेका छन् । ‘कोरोना भाइरसको संक्रमण रोक्ने काम त्यति सजिलो छैन । यसमा सर्वसाधारण नागरिकहरुलाई प्रत्येक देशलाई सजग गराउन सके भने मात्र यो संभव छ,’ विज्ञहरुले भनेका छन् ।

‘हामीसँग कोरोना भाइरस हटाउने कुनै जादूको छडी छैन,’ ह्वाइट हाउसको कोरोना भाइरस रेसपोन्स कोअर्डिनेटर डा. डेबोरह ब्रिक्सले भनेकी छिन्–‘यसका लागि कुनै जादूमय खोप र थेरापी पनि छैन । यो त केबल आनीबानीमा आधारित छ ।’ कम्तीमा ३० दिन मात्रै पनि यो विषयमा ध्यान दिने हो भने केही न केही परिवर्तन हुने चिकित्सकहरूले सुझाव दिँदै आएका छन् ।

Womui
Womui