कोरोना त्रास, अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

129

छिनछिन खबर
काठमाडौं– कोरोना भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तर्राष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताए । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ ।

अन्तरराष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आङ्कलन गरिएको छ । विमानस्थल सेवाबापत वार्षिक छ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब रु चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो ।

“कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो ९प्राधिकरण०को मुख्य आम्दानी नै अन्तरराष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ”, उनले भने । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ । पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५५ सय र मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

कुन एयरलाइन्सको कति कटौती
कोरोनाको प्रभावले सबैभन्दा बढी चीनको उडानमा कटौती भएको छ । नेपाल र चीन दुवैतर्फको उडानमा भारी कटौती भएको हो । प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाइमा चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ ।

नेपालबाट चीनमा उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान गर्दै आएकामा अहिले सबै बन्द गरेको छ । चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायु सेवा प्रदायकले पनि उडानमा भारी कटौती गरेका छन् । प्राधिकरणका अनुसार एयर चाइनाले सातामा १४ उडान गर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ ।

चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना स्ट्रनको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान गर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

चीनबाहेक अन्य गन्तव्यका उडान कटौती भएको छैन तर नेपालका तर्फबाट नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले दोहामा आजदेखि तत्कालका लागि उडान स्थगन गरेका छन् । कतारबाट नेपालको उडान भने नियमित भइरहेको छ । कतारले दैनिक तीन उडान गरिरहेको विमानस्थलले जनाएको छ । भारतको नयाँदिल्लीलगायत गन्तव्यको उडान पनि नियमित भइरहेको छ ।

मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन् । हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब चार अर्ब ह्रास आउने वायु सेवा सञ्चालक सङ्घले जनाएको छ ।

Womui
Womui