घरमा ६ बोट गाँजा रोप्न पाइने, सुत्केरीलाई बेच्न नपाइने

154

छिनछिन खबर
काठमाडौं–एउटा परिवारले घरायसी प्रयोजनका लागि बढीमा ६ वटासम्म गाँजाको बोट लगाउन पाउने गरी संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ । नेकपा सांसद शेरबहादुर तामाङले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरेको गैरसरकारी विधेयकमा गाँजा खेतीमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई संलग्न गराउन नहुने उल्लेख छ ।
नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बहस संसदमा उठेलगत्तै तामाङले समितिमा विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा गाँजा खेती गर्न अनुमति लिनुपर्ने र यस्तो अनुमतिको अवधि १ वर्षको हुने उल्लेख छ । यस्तो अनुमति कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले आवश्यक जाँचबुझ गरी तोकिएबमोजिमको दस्तुर लिएर दिने विधेयकमा उल्लेख छ । उत्पादन तथा विक्री वितरण गर्दा कृषकले आफूले उत्पादन गरेको गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाङको दाना वा फूल रहेको प्याकेट वा र्‍यापर्समा स्पष्ट विवरण खुलाउनुपर्ने विधेयकमा उल्लेख छ ।

जसमा गाँजा खेती गर्नका लागि निजले प्राप्त गरेको अनुमतिपत्र नम्बर, गाँजाको फसल तयार भई उत्पादन गरिएको वर्ष र महिना, गाँजा उत्पादन गरिएको स्थानीय तह र जिल्ला, प्याकेट तथा र्‍यापर्स्भित्र रहेको गाँजाको परिमाण, तोकिएबमोजिमको चेतावनीमूलक सन्देश, तोकिएका अन्य हानिकारक तत्त्व उल्लेख गर्नुपर्ने उल्लेख छ । विधेयकमा २१ वर्षभन्दा कम उमेरका र गर्भवती महिलालाई निःशुल्क उपलब्ध गराउन भने नपाइने उल्लेख छ ।

उत्पादित गाँजा २१ वर्षभन्दा कम उमेरका र गर्भवतीलाई बिक्री गरे १ वर्ष कैद र १ लाख रूपैयाँसम्म जरिमाना हुने विधेयकमा उल्लेख छ । उत्पादित गाँजा शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १ किलोमिटरभित्रको घर, पसलबाट बिक्री वितरण गर्न गराउन नपाइने विधेयकमा उल्लेख छ । यस्तो कार्य गर्नेलाई पनि १ वर्ष कैद र १ लाख रूपैयाँसम्म जरिमाना हुने उल्लेख छ ।

गाँजा खेतीका लागि सरकारी वा व्यक्तिको जग्गा निश्चित सर्तमा भाडामा लिन पाइने व्यवस्था विधेयकमा छ । गाँजाखेती तथा यसको बिक्रीवितरणको अनुगमन तथा नियमन गर्न एउटा नियमन बोर्ड गठनको प्रस्ताव विधेयकमा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा गठन हुने यस्तो बोर्ड ८ सदस्यीय हुने उल्लेख छ ।

Womui
Womui