नेपालगन्जमा औद्योगिक गणना हुने

31

छिनछिन खबर
नेपालगन्ज– यही फागुनको दोस्रो साताबाट नेपालगन्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ । तथ्याङ्क कार्यालय नेपालगन्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए ।

औद्योगिक गणना तथा सर्वेक्षणबाट आएको तथ्याङ्कका आधारमा सरकारलाई औद्योगिक नीति निर्माणमा सहज हुनुको साथै उद्योगी, व्यवसायीलाई औद्योगिक क्षेत्रका अवसर र चुनौतीका बारेमा जानकार बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । बाँकेमा विभिन्न प्रकृतिका करिब ५०० औद्योगिक प्रतिष्ठानको गणना हुने र त्यसका लागि चार जना गणकलाई खटाइने प्रमुख ऐरीले जानकारी दिए ।

उद्योगको परिचय, दर्ता भएको निकाय, कर्मचारी विवरण, आम्दानी स्रोत, चलअचल सम्पत्ति, उद्योगी, व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा प्रश्न सोधेर गणना गरिने जनाइएको छ । ऐरीका अनुसार दशभन्दा बढी कामदार भएको उद्योगको गणना हुनेछ भने सोभन्दा कम कामदार भएका उद्योगको सर्वेक्षण हुनेछ ।

गणनासम्बन्धि विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष नन्दलाल वैश्य, वर्तमान महासचिव चिरञ्जीवी ओलीलगायत उद्योगी व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो । रासस

Womui
Womui