विप्रेषणमा नेपालीको लागत बढी

30

काठमाडौं– मुलुकको कुल गार्हस्थ उत्पादनको करिब एक चौथाई हिस्सा ओगट्दै आएको विप्रेषण आप्रवाहको औसत लागत ६.८४ प्रतिशत रहेको छ । विश्व बैङ्कले गरेको विश्वव्यापी विप्रेषणलागतसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार विश्वको अन्य मुलुकको तुलनामा यो कम भए पनि छिमेकी मुलुक भारत र बङ्गलादेशको तुलनामा नेपालमा विप्रेषण आप्रवाहको लागत बढी पर्ने गरेको छ ।

नेपाली कामदारको प्रमुख गन्तव्य मानिदै आएका खाडी मुलुकबाट स्वदेशमा विप्रेषण आप्रवाह गर्दा मलेसियाको भन्दा पनि बढी तिर्दै आएका छन् । सबैभन्दा बढी भने अमेरिकाबाट विप्रेषण गर्दा लागत तिर्नु परेको छ । मलेसियाबाट दुई सय डलरसम्म विप्रेषण आप्रवाह गर्दा नेपाली कामदारले औषतमा ३.४ प्रति खर्चनुपर्छ भने पाँच सय डलरसम्मका लागि २.९ प्रतिशत लागत पर्छ । सोही देशबाट भारतीय र बङ्गलादेशी कामदारले आफ्नो देशमा विप्रेषण गर्दा क्रमशः २.९ र ३.१ प्रतिशतमात्र खर्चने गरेका छन् ।

त्यस्तै युएईबाट विप्रेषण गर्दा नेपालीले चार प्रतिशत खर्च व्यहोरेका छन् भने भारतीय र बङ्गलादेशीले क्रमशः २.३ र २ प्रतिशत मात्र लागत व्यहोरेका छन् । कतारबाट विप्रेषण गर्दा भने भारतीय श्रमिकको तुलनामा नेपालीले केही कम लागत व्यहोरेका छन् । कतारबाट विप्रेषण पठाउँदा नेपालीले ४.३ प्रतिशत खर्च गर्नुपर्छ भने भारतीयले ४.५ प्रतिशत रकम खर्चंदै आएका छन् । बङ्गलादेशीले भने ४.१ प्रतिशत मात्र लगत खर्चंदै आएका छन् । साउदी अरेबियाको लागत हेर्दा पनि नेपालको बढी छ ।

यस देशबाट नेपालीले विप्रेषण गर्दा ४.६ प्रतिशत रकम लागत स्वरुप व्यहोर्नु परेको छ भने भारतीयले ४.४ र बंगलादेशीले ३.५ प्रतिशत खर्चंदै आएका छन् ।
नेपालीहरूले अमेरिकाबाट रकम पठाउँदा भारतीयको तुलनामा दोब्बर खर्चनुपर्छ । नेपालीले ५.४ प्रतिशतलागत व्यहोर्दै आएका छन् भने भारतीय २.७ प्रतिशत व्यहोर्ने गरेका छन् । त्यस्तै बङ्गलादेशीले जम्मा ४.८ प्रतिशत मात्र लागत व्यहोरेको विश्व बैंकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

कतारबाट ४.३ प्रतिशत, साउदी अरेबियाबाट ४.६ प्रतिशत र अमेरिकाबाट सबैभन्दा बढी ५.४ प्रतिशत लागत व्यहोर्नुपर्छ । भारतीय कामदारले भने युएईबाट विप्रेषण गर्दा २.३ प्रतिशत, कतारबाट ४.५, साउदी अरेबियाबाट ४.४ र अमेरिकाबाट २.७ प्रतिशत मात्र व्यहोर्ने गरेका छन् । अझै बङ्गलादेशीहरूले त्योभन्दा पनि कम लागतमा विप्रेषण आप्रवाह गरिरहेका छन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷७६ मा दुई लाख ४३ हजार ८६८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका छन् भने चालू आवको चार महिनमा ७९ हजार ६८० जनाले वैदेशिक रोजगारीका लागि देश छोडेका छन् ।

वैदेशिक रोजगारीका लागि धेरै सङ्ख्यामा जाने मुलुकमा यूएई रहेको छ । आर्थिक सर्वेक्षण २०७५÷७६ अनुसार गत आवमा यूएई ६२ हजार ७७६ रहेका छन् । त्यसअघिका आवमा पनि ६० हजारभन्दा बढी नेपाली रोजगारीका लागि त्यहाँ पुगेका थिए । चालू आवको चार महिनामा पनि रोजगारीको लागि यूएई जाने कामदारको हिस्सा सबैभन्दा बढी छ । चालू आवको चार महिनामा २६ हजार १०२ जना नेपाली यूएई गएका छन् । वैदेशिक रोजगारीका लागि बढी श्रमिक जाने मुलुक हुँदा हुँदै पनि ती स्थानबाट स्वदेशमा विप्रेषण गर्दा बढी लागत श्रमिकले व्यहोर्नु परेको छ ।

ती देशमा नेपालका बैंकहरूको आफ्ना प्रतिनिधि राखेर रेमिटको कारोबार गर्न नसकेको कारण नेपाली श्रमिकले बढी लागत व्यहोर्नु परेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टको भनाइ छ । नेपाली श्रमिकहरूले विदेशी रेमिक कम्पनीमार्फत विप्रेषण गर्नु परेकाले पनि बढी लागत परेको उनको भनाइ छ ।

नेपालका बैंकलाई विदेशमा सम्पर्क कार्यालय खोल्नका लागि मार्ग प्रशस्त भएको र केही बैंकहरूले एकाध मुलुकमा खोल्न पनि थालेको बताए । हाल संस्थागत रूपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देश खुल्ला गरेको छ । तीमध्ये कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसियासँग द्विपक्षीय श्रम सम्झौता गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली श्रमिक जाने गरेका छन् । जापान र कोरियासँग जीटूजीमार्फत कामदार पठाउने सम्झौता भएको छ । गोरखापत्रबाट

Womui
Womui