शिक्षक र विद्यालयका कर्मचारीलाई थप सुविधाको व्यवस्था

37

छिनछिन खबर
काठमाडौं– अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने भएको छ । राष्ट्रिय शिक्षा नीतिले गरेको व्यवस्था अनुसार अब दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीहरुलाई आवश्यकताका आधारमा थप सुविधा दिने तयारी गरिएको हो । ‘दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था गरिनेछ’, शिक्षा नीतिमा उल्लेख गरिएको छ ।

जस अनुसार अब सरकारले यो नीति कार्यान्वयन गर्दा दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक र विद्यार्थीले आफ्नो तलव बाहेकको थप सेवा सुविधा पाउने छन् । यस्तै विद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायी प्रक्रिया शुरु गरिने व्यवस्था पनि गरेको छ । विद्यालय कर्मचारीहरुको योग्यता निर्धारण गर्दै उनीहरुलाई शिक्षक सेवा आयोगको परीक्षाबाट स्थायी गरिने भएको हो । सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियाको व्यवस्था गरिएको हो ।

शिक्षा ऐनको आठौँ संशोधनमा पनि विद्यालय कर्मचारीको स्थायी प्रक्रियाको व्यवस्था भएपनि शिक्षा नियमावलीमा व्यवस्था हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । अहिले सरकारले राष्ट्रिय शिक्षा नीति मार्फत त्यसलाई सम्बोधन गरेको हो । विद्यालयमा अध्यापन गर्नेबाहेकका सरसफाइ, सूचना संप्रेषण, कार्यालय व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, पुस्तकालय व्यवस्थापन जस्ता कार्यको लागि आवश्यक संख्यामा कर्मचारीको व्यवस्था गरिने र त्यस्ता कर्मचारीहरूलाई प्रचलित कानूनमा व्यवस्था भए बमोजिमको पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराइने शिक्षा नीतिमा व्यवस्था गरिएको छ ।

Womui
Womui