सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारले गर्छन् आत्महत्या

130

काठमाडौं–सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ। सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको तथ्यांक छ। गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढ्दै गएको विश्लेषण गरिएको छ ।


कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त आत्महत्या चिन्ताजनक ढंगले बढ्नुमा आर्थिक र सामाजिक कारणलाई मुख्य ठान्छन् । ‘गरिबीलगायत कारणले युवा डिप्रेसनमा जान्छन। निरासाका कारण आत्महत्या गर्ने बढ्दै गएका हुन्,’ उनी भन्छन्, ‘बढ्दो आत्महत्या सामाजिक समस्या हो।’ आत्महत्या कम गर्न विद्यालय तहदेखि नै मनोपरामर्श दिइनुपर्ने उनको भनाइ छ । सञ्चारलगायत प्रविधिको पहुँचले सबै जानकारी हुने तर गरिबीले आवश्यकता पूरा गर्न समस्या हुँदा मानिसमा निरासा बढेको उनी बताउँछन ।

नागरिक समाजका अगुवा धर्मराज पाठक पनि कैलालीमा आत्महत्या दर बढ्दै गएको बताउँछन्। उनी आत्महत्या बढ्नुको भित्री कारण मानसिक समस्या ठान्छन् । ‘गरिबी, पारिवारिक र सामाजिक सम्बन्ध पनि आत्महत्याका कारण हुन्,’ उनले भने, ‘बाहिर पारिवारिक झैझगडा, ऋण तिर्न नसकेर वा अन्य कारण देखिए पनि भित्री कारण मानसिक समस्या भएर नै देखिन्छ ।’ कुनै न कुनै रुपमा २५देखि ३० प्रतिशत मानिसमा मानसिक समस्या भएको अध्ययनले देखाएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलको तथ्यांक अनुसार प्रदेशमा औसतमा दैनिक एकजनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष २०७३÷०७४ मा चार सय ३२ जना, ०७४÷०७५ मा चार सय ९९ र ०७५÷०७६ मा पाँच सय तीन जनाले आत्महत्या गरेको तथ्यांक प्रदेश प्रहरी कार्यालयसँग छ । यो तथ्यांकलाई औसतमा हेर्ने हो भने प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको देखिन्छ।

चालु आर्थिक वर्षको हालसम्म दुई सय आठजनाले आत्महत्या गरेका छन् र १५ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्सालले बताए । ‘तथ्यांकका हिसाबले आत्महत्या बढेको छ,’ उनले भने ।

मानसिक समस्याकै कारण आत्महत्या बढेको उनको भनाइ छ । उनी भन्छन्, ‘मानसिक समस्या भएकालाई उपचार र मनोपरामर्श दिनुपर्नेमा त्यो हुन नसक्दा आत्महत्या बढ्दो छ ।’ मानसिक समस्याका रोगीलाई उपचार र मनोपरामर्श दिइनुपर्ने उनी बताउँछन् । तथ्यांक अनुसार सुदूरपश्चिममा भुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढी छ । खोला, नदी र पोखरीमा हामफालेर आत्महत्या गर्ने संख्या भने न्यून रहेको लम्सालले बताए । नागरिकबाट

Womui
Womui