धादिङमा ट्रक दुर्घटना हुँदा एकै ठाउँका ७ जनाको मृत्यु

121

धादिङ-धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आईचर ट्रक दुर्घटना हुँदा एकै ठाउँका ७ जनाको मृत्यु भएको छ । मंगलबार ज्वालामुखी गाउँपालिका वडा नं ४ मा रहेको ढोला मण्डली मन्दिरबाट धादिङबेसी तर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं २ का सेते गुरुङ, प्रेमबहादुर गुरुङ, ध्बजबहादुर गुरुङ, बेलबहादुर गुरुङ, विदुर गुरुङ, तिलबहादुर गुरुङ र पूर्णनारायण श्रेष्ठ रहेका छन्। तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

ट्रक क्षमता भन्दा बढी यात्रु र तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको उनको भनाई छ । दुर्घटनामा गम्भीर घाइते भएका ११ जनालाई नेपाल सेनाको हेलिकप्टर र ४ जनालाई एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला अस्पताल धादिङले जनाएको छ । बाँकी घाइते १४ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Womui
Womui