प्रेस युनियनको नवौं महाधिवेशन नेपालगन्जमा गर्ने निर्णय

46

नेपालगन्ज, माघ ७-
नेपाल प्रेस युनियनको नवौं केन्द्रिय महाधिवेशन नेपालगन्जमा सम्पन्न गर्ने निर्णय गरिएको छ । चितवनमा मंगलबार सम्पन्न युनियनको कार्यसमिति बैठकले आगामी चैत २१ र २२ गते नेपालगन्जमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको केन्द्रिय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । ‘नेपालगन्जमा युनियनको केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेका छौं, अब हामी सबैको ध्यान नवौं महाधिवेशनतिर केन्द्रित हुनेछ,’ उनले टेलिफोनमा भने । राज्य पुर्नसंरचना पश्चात नेपालगन्ज उपेक्षामा परिरहेका बेला ऐतिहासिक नगरी नेपालगन्जमा युनियनको केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरिएको अध्यक्ष सिग्देलले बताए ।

उक्त बैठकले अधिवेशन नगरेका जिल्ला शाखालाई यही माघ मसान्तभित्रमा सम्पन्न गरिसक्न अन्तिम समय दिएको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले महाधिवेशनका लागि चाडै नै तयारी तथा उपसमिति गठन गरिने जानकारी दिए । जिल्ला अधिवेशन सम्पन्न गर्न शाखाहरुलाई माघ मसान्त सम्मको समय दिइएको उनले बताए । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रिय प्रतिनिधीको जिम्मेवारी बाँडफाँट पनि गरेको छ । बैठकले बाँके शाखाको अधिवेशन सम्पन्न गर्न केन्द्रिय सदस्य माधव धिताललाई प्रतिनिधीका रुपमा पठाउने निर्णय गरेको छ ।
महाधिवेशनको तयारी गर्नुपर्ने भएको हुँदा बाँके शाखाको अधिवेशन छिट्टै गर्नुपर्ने महासचिव शिवाकोटीले बताए । माघ मसान्तभित्र अधिवेशन नगर्ने शाखाले चैत तेस्रो साता हुने महाधिवेशनमा भाग लिन नदिने बैठकले निर्णय गरेको छ । केन्द्रिय समितिका अनुसार बाँकेसहित करिव ३ दर्जन जिल्ला शाखाले युनियनको अधिवेशन गरेका छैनन् । केही जिल्लामा उत्पन्न विवाद समाधान गर्ने जिम्मा युनियनका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई बैठकले दिएको छ ।
उप–महासचिव प्रेम केसीले ऐतिहासिक एवम् सुन्दर नगरी नेपालगन्जले युनियनको केन्द्रिय महाधिवेशनको आथित्यता गर्न पाउनु गर्वको कुरा भएको बताए । ‘नेपालगन्जमा हुन लागेको महाधिवेशनलाई सफल पार्न केन्द्रिय कार्यसमितिको पुरै टिम परिचालित हुनेछ, बाँकेसहित आसपासका जिल्ला शाखाले पनि सक्रियता देखाउनुपर्नेछ,’ केसीले भने ।
युनियनको महाधिवेशन यसअघि मंसिरमा सम्पन्न गर्न मिति तोकिएपनि उपनिर्वाचन लगायत समसामयिक राष्ट्रिय मुद्दामा सबैको ध्यान केन्द्रित रहेको भन्दै अन्तिममा आएर स्थगित गरिएको थियो । युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले युनियनको केन्द्रिय अधिवेशनलाई सफल पार्न नेपालगन्ज क्षेत्रका सबै पक्ष र सरोकारवाला निकायसँग छलफल गरिने बताए । बैठकपछि उनले भने, ‘युनियनको महाधिवेशनलाई ऐतिहासिक रुपले सफल बनाउन हामीले सबैसँग छलफल र सहकार्य गर्नेछौं ।’

Womui
Womui