८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

198

छिनछिन खबर
काठमाडौं–श्रम तथा व्यवसायजन्य विभागबाट बिहीबार मात्रै ११ जना विदेशी नागरिकले श्रम इजाजत लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारीका लागि नेपालमा आएका विदेशी श्रमिकलाई श्रम इजाजत प्रदान गर्दै आएको छ ।

 

विभागले साताको दुई दिन सोमबार र बिहीबार श्रम स्वीकृति दिने गरिरहेको छ । श्रम विभागले आर्थिक वर्ष २०६९र७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो । आव २०६९÷०७० मा ९ सय ८४ विदेशीलाई विभागले श्रम इजाजत दिएको थियो ।

यस्तै, आव २०७०÷०७१ मा ७ सय १९, आव २०७१÷०७२ मा २ हजार १९, आव २०७२÷०७३ मा १ हजार ४ सय ७२ विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरिएको विभागले जनाएको छ । यसैगरी, आव २०७३÷०७४ मा १ हजार ३ सय २४ नयाँ श्रम इजाजत जारी गरेको विभागले सोही आवमा ६ सय ४८ श्रम इजाजत नवीकरण गरेको थियो ।

आव २०७४÷०७५ मा १ हजार ६ सय ८ नयाँ श्रम इजाजत र ९ सय ६२ नवीकरण तथा आव २०७५÷०७६ मा १ हजार १ सय १९ नयाँ श्रम इजाजत र ८ सय ६२ श्रम इजाजत नवीकरण गरेको थियो । चालू आवको पाँच महिनाको अवधिमा विभागले ५ सय ४० विदेशी नागरिकलाई नयाँ श्रम इजाजत प्रदान गरेको छ भने सोही अवधिमा ५ सय ३७ श्रम इजाजत नवीकरण गरेको छ ।

श्रम इजाजत लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । चीन सरकारको सहयोगमा सञ्चालित परियोजनामा ठूलो संख्यामा चिनियाँ नागरिकले काम गर्दै आएका छन् । त्यस्तै, नेपालमा काम गर्ने भारतीय नागरिकको संख्या पनि निकै ठूलो छ । यद्यपि सबै भारतीय नागरिकलाई श्रम इजाजतको आवश्यकता पर्दैन तापनि दक्ष कामदारका रुपमा नेपालमा काम गर्दै आएका केही भारतीय नागरिकले भने श्रम इजाजत लिएका छन् ।

श्रम इजाजत लिनेमा नेपाललाई आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्दै आएका मुलुकका नागरिकको संख्या उल्लेख छ । केही दातृ निकायमा काम गर्ने विदेशी नागरिकले पनि श्रम इजाजत लिएका विभागले जनाएको छ । अस्ट्रेलिया, बंगलादेश, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, पाकिस्तान, साइबेरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत, अमेरिकालगायत ८७ मुलुकका नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक एकीकृत गरिँदै
नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या विभागसँग भए पनि कुन क्षेत्रमा कति विदेशी श्रमिक छन् भन्ने स्पष्ट तथ्यांक छैन । सबै क्षेत्रका विदेशी श्रमिकको बेग्लाबेग्लै तथ्यांक राख्ने गरी प्रक्रिया अगाडि बढाएको महानिर्देशक केसीले बताए ।

सजिलो छैन स्वीकृति
विदेशी नागरिकलाई श्रम स्वीकृति लिने प्रक्रिया भने त्यति सजिलो छैन । कुनै रोजगारदाताले विदेशी श्रमिक राख्नुपरेमा सुरुमा कुन विशेषज्ञता हासिल गरेको कामदार चाहिने हो, त्यसको विज्ञापन गर्नुपर्नेछ । विदेशी नागरिकका लागि श्रम इजाजत जारी गर्नका लागि गृह मन्त्रालयको सहमति आवश्यक पर्दछ । त्यस्तै, सम्बन्धित क्षेत्र पर्ने मन्त्रालयको सिफारिश आवश्यक पर्दछ ।

इजाजत नलिए निष्कासन
श्रम ऐन, २०७४ मा कुनै पनि विदेशी नगारिकले श्रम इजाजत नलिइ नेपालमा काम गर्न नपाउने व्यवस्था छ । ऐनको दफा २२ को १ मा विभागबाट श्रम इजाजत नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रूपमा काममा लगाउन नपाउने व्यवस्था छ ।

रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा मात्र विदेशी श्रमिकलाई काममा लगाउन पाउनेछन् । ऐनमा कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताअन्तर्गत श्रम स्वीकृति लिन नपर्ने अवस्थामा बाहेक नेपालमा काम गर्ने सबै विदेशी नागरिकले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । रासस

Womui
Womui