इरानद्वारा असीमित परमाणु विस्तारको घोषणा, प्रतिबन्ध नमान्ने

34

एजेन्सी
तेहरान–इरानले सन् २०१५ मा भएको अन्तर्रा्ष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने घोषणा गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानै सैनिक जनरल मारिएपछि इरान र अमेरिकाबीच तनाव चुलिएका बेला इरानले परमाणु सम्झौताका सबै प्रावधान अस्वीकार गर्ने घोषणा गरेको हो ।

एउटा वक्तव्यमार्फत् इरानले अब परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने जनाएको छ।सन् २०१५ मा भएको सो सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो । इरानले अब सम्झौताअनुसार युरेनियमको भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्रा पालना गर्नेछैन । इरानी मन्त्रिपरिषदको बैठकपछि इरानले सो घोषणा गरको हो ।

गत शुक्रवार अमेरिकी हवाई हमलामा इराकको राजधानी बग्दादमा इरानका शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष सो परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए। त्यसपछि उनले इरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए । दुई देशबीच तनाव बढिरहेका बेला इराकस्थित अमेरिकी दूतावासमा थप क्षेप्यास्त्र प्रहार भएको छ।

बग्दादस्थित ग्रिन जोन भनिने क्षेत्रमा रहेको दूतावासलाई लक्षित गर्दै चार पटक अप्रत्यक्ष प्रहार गरिएको बताइएपनि कसैको हताहती भने भएको छैन । इरानको समर्थन रहेको कताइब हेज्बुला विद्रोही समूहले शनिवार एउटा वक्तव्य निकाल्दै इराकी सेनालाई इराकस्थित अमेरिकी शिविहरूबाट आइतवार साँझसम्म कम्तिमा एक हजार मिटर टाढा जान सुझाव दिएको थियो ।

Womui
Womui