नेपालगन्ज भन्सार नाका अस्तब्यस्त

151

नेपालगन्ज–एकीकृत भन्सार जाँच चौकी (आइसिपी) समयमा निर्माण नहुँदा पश्चिम तराईको मुख्य नेपालगन्ज भन्सार नाका अस्तब्यस्त बनेको छ । भन्सार जाँचपास गराउने ट्रक, ट्यांकर तथा कन्टेनर मुख्य सडकमै रोकिँदा उक्त नाका अस्तब्यस्त बनेको हो ।

मालसामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौं ट्रक, ट्यांकर तथा कन्टेनर आवत–जागत गर्छन् । नेपालगन्ज–जमुनाहा चार लेन सडकमा मालबाहक ट्रक, ट्यांकर तथा कन्टेनर पार्किङ गरिँदा जमुनाहादेखि भन्सार कार्यालयसम्मको क्षेत्र सधैं अस्तब्यस्त हुने गरेको छ। भन्सार जाँचपास गर्ने ठाउँ अभावले ट्रक, ट्यांकर तथा कन्टेनरलाई सडकमै रोक्नुपरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख शान्तिराम निरौलाले आइसिपी निर्माण नहुँदाको असर अहिले देखा परिरहेको बताए ।

यसले भन्सार जाँचपास गर्न निकै कठिनाइ भएको उनले सुनाए । ‘आइसिपी समयमा नबन्दा गाडी जाँचपास गर्न एकदमै समस्या भइरहेको छ, मालबाहक गाडीहरू बाटोमै रोकिएका छन्,’ निरौलाले भने, ‘नियमअनुसार गाडी भन्सार यार्डमा रोकिनुपर्छ, तर ठाउँ अभावले गर्दा त्यो सम्भव नै छैन।’ मालबाहक ट्रक तथा कन्टेनर सडकमै रोकिँदा भन्सार जाँचपास गर्न र त्यसको व्यवस्थापन गर्न धेरै जटिल हुने गरेको उनले बताए ।

आइसिपी निर्माण भएमा धेरै व्यवस्थित र वैज्ञानिक हुने उनको विश्वास छ। निरौलाले थपे, ‘आइसिपी कहिले बन्छ, त्यो हामीलाई थाहा छैन, निर्माण गर्ने जिम्मा सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइको हो, अर्थ मन्त्रालयले आइसिपी निर्माणका लागि जग्गा अधिग्रहण गरेर तारबार गरिसकेको छ ।’

आइसिपी निर्माण भएपछि व्यापारीले सबै सुविधा एकै ठाउँमा प्राप्त गर्नेछन्। आइसिपी बनेपछि जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रणलगायत कार्यालय रहनेछन्। सरोकार राख्ने सबै कार्यालय एकै ठाउँमा भएपछि व्यापारीलाई राहत हुने भन्सार प्रमुख निरौला बताउँछन् ।

भारतको सहयोगमा आइसिपी निर्माण गर्न नेपाल सरकारले जग्गा अधिग्रहण गरेको नौ वर्ष पुगिसकेको छ । तर भारतले अझै पनि नेपालगन्ज नाकामा आइसिपी निर्माणको काम सुरु गरेको छैन । नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ जयसपुरमा आइसिपी निर्माणका लागि सरकारले ९०.८० बिघा जग्गा अधिग्रहण गरेको थियो । तर भारतले समयमै निर्माणमा चासो नदिँदा २०६७ देखि आइसिपी अधुरै रहेको हो।

अधिग्रहण गरिएको जग्गामध्ये ६६.४४ बिघा भन्सार नाका र करिब २४.३६ बिघा पहुँच मार्गका लागि छुट्ट्याइएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले आइसिपी निर्माण गर्ने सबै जिम्मा भारत सरकारले लिएको हुँदा ढिलाइ हुनुको कारणबारे आफूहरू अनविज्ञ रहेको बताए ।

‘आइसिपी भारत सरकारले निर्माण गरिदिने हो, तर खै किन ढिलाइ भइरहेको छ, यसबारे हामीलाई थाहा छैन,’ उनले भने। भारतले अहिले पूर्वीतराईका भन्सार नाकामा काम थालेकाले नेपालगन्जमा ढिलाइ भएको हुन सक्ने भुसालको अनुमान छ। आइसिपी निर्माणस्थलमा विभागले सशस्त्र प्रहरी बलका लागि निर्माण गरेको सुरक्षा ब्यारेक भवन पनि जीर्ण भइसकेको छ ।

लाखौं रूपैयाँ खर्च गरी पटक–पटक पुनर्निर्माण गरिए पनि भवनका ढोका, झ्याल लगायत सामान चोरी हुने गरेको छ । समय–समयमा नेपालगन्ज भ्रमणमा आउने भारतीय राजदूतलाई आइसिपी निर्माणको काम चाँडो सुचारु गरिदिन यहाँका उद्योगी, व्यवसायीले पनि ध्यानाकर्षण गराउँदै आएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघले पटकपटक राजदूतमार्फत भारत सरकारलाई अनुरोध गरिसकेको छ । नागरिकबाट

Womui
Womui