विवादित सूचना प्रविधि विधेयक समितिबाट पारित

139

काठमाडौं–प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरूको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिए ।


बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फरक मत राख्ने सांसदहरूका आठवटा बुँदा सरकारले स्वीकार गरेको बताए । लोकतान्त्रिक मूल्य पद्धतिविरुद्ध विधेयक बनाएर पेश गर्न संविधानले नै अनुमति नदिने भएकाले त्यसो नगरिएको उनले बताए । ’यो देशको कानुन हो, सत्ता पक्षको मात्र कानुन होइन, विधेयकमा नागरिक अधिकार कुण्ठित गर्ने विषय छन् भन्नु स्याल हुइँया मात्र हो, सरकारको आलोचना गर्न पाइन्छ तर जथाभावी गर्न पाइँदैन’, मन्त्री बाँस्कोटाले भने ।

विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरू सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले विधेयकको दफा ८८ र ९१ देखि ९४ सम्मका बुँदा भने नागरिक स्वतन्त्रता र संविधानको मर्म्विपरीत भएकाले हटाउन माग गरे । विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमितिमा लिखित ‘नोट अफ डिसेन्ट’ पेश गरेका सांसद बहादुरसिंह लामाले नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा राखिएकाले स्वीकार गर्न नसकिने बताए ।

संविधानको मर्म्विपरीत आएको यो विधेयक प्रजातान्त्रिक मूल्य मान्यताविपरीत रहेको समेत उनको आरोप थियो । फरक मतलाई संसदको अभिलेखमा रहने गरी अघि बढाउन सांसद लामाले माग गरे । सांसद रामबहादुर विष्टले दफा ८८ र ९१ देखि ९४ सम्मका प्रावधान हटाएर समितिबाट सर्वसम्मत रुपमा पारित गर्ने व्यवस्था गर्न माग गरे । सांसद रङ्गमती शाहीले लोकतान्त्रिक मूल्य मान्यतामा सरकारविरुद्ध बोल्न नपाइने गरी विधेयक मस्यौदा गरी पारित गरिन लागेको भन्दै आपत्ति जनाइयो ।

सांसद टोपबहादुर रायमाझीले लोकतन्त्र भनेको छाडातन्त्र नभएकाले सूचना प्रविधिलाई व्यवस्थित गर्न विधेयक आएको बताए । समाचार र विचारलाई भने सम्मान गरिनुपर्ने उनको भनाइ थियो । सांसद गणेशकुमार पहाडीले सूचना प्रविधिको विषयलाई व्यवस्थित गर्ने अर्को कानून नभएकाले धेरै मानिस पीडित भएको उल्लेख गर्दै समितिमा विधेयक पारित नगरी अनिर्णयको बन्दी बनाइनु नहुने बताए । विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमिति संयोजक बिनाकुमारी श्रेष्ठले बुँदाबुँदामा छलफल गरी फरक मतसहित प्रतिवेदन समितिमा पेश गरिएको बताइन् ।

सांसदहरू यज्ञराज सुनुवार, दामोदर भण्डारी, केदार सिग्देल, आशाकुमारी विक, लीलानाथ श्रेष्ठले विधेयक पारित हुनुपर्नेमा जोड दिए । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको छ । रासस

Womui
Womui