सन् २०१९ का चर्चित १९ विश्व घटना

102

जीवन भण्डारी
काठमाडौं–अघिल्ला वर्षझैं सन् २०१९ मा पनि राजनीतिक घटनाक्रम नै बढी चर्चामा रहे भने केही ठूला दुःखद् घटनाले विश्वलाई स्तब्ध बनाए । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चार माध्यममा महत्त्वपूर्ण स्थान ओगटे भने अन्य देशका पनि केही घटनाहरूले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ ।

 

१. भेनेजुएलाको पक्षरविपक्षमा विश्व विभाजित

सन् २०१९ को सुरुवात भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भएको थियो । २३ जनवरीमा भेनेजुएलाको राष्ट्रियसभाका प्रमुख ३५ वर्षीय हुवा गुएइँदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो ।

राष्ट्रपति निकोलस मदुरोलाई निर्वा्चित गरेको निर्वाचन निष्पक्ष नभएको भन्दै उनले मदुरो अवैध राष्ट्रपति भएको तर्क गर्दै आफैँलाई राष्ट्रपति घोषणा गराएका थिए । गुएइँदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरेका थिए ।अमेरिका, युरोपेली राष्ट्र, ब्राजिल, कोलम्बिया, अर्जे्न्टिना र अस्ट्रेलिया, इजरायललगायत झण्डै ५० देशले गुएइँदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए । मदुरो अहिलेसम्म पनि राष्ट्रपति भवनमै रहेका छन् ।

२. बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले संसदको निर्वाचनमा बेलायतलाई युरोपेली सङ्घ (ईयू)बाट बाहिर निकाल्ने जनादेशसहितको बहुमत पाएको छ । हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ ।

उनले आगामी ३१ जनवरीमा बेलायतलाई ईयूबाट अलग्याउने गृहकार्य गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुँदै उनी नयाँ निर्वाचनबाट फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

३. सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया

एकअर्कालाई प्रमुख दुश्मन ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभए पनि शीर्ष नेताको दुई बैठक भयो । अघिल्लो वर्षको १२ जुनका दिन सिङ्गापुरमा पहिलो पटक अँगालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले यस वर्ष दुई पटक शिखर बैठक गरे । दोस्रो बैठक २७–२८ फेब्रुअरीमा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सिमानामा १ जुलाईमा भयो । दुवै बैठक ठोस उपलब्धिमूलक नभए पनि द्विपक्षीय सम्बन्धमा दरार नहुनुलाई नै सन्तोषका रूपमा हेरिएको छ ।

४. बाढी र रोगबाट सयौँको मृत्यु

बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्रमा गरी ३ सयभन्दा बढीको मृत्यु भयो । भारतकै बिहारमा फैलिएको इन्सेक्टफ्लाइटिस् रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए । अस्ट्रेलियामा यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भयो ।

५. सुडानमा आन्दोलनमा सयौँ मारिए

सुडानमा भएको आन्दोलनका क्रममा १ सय ८ जनाको मृत्यु भयो भने इराकमा झण्डै १ सय जना आन्दोलनकै क्रममा मारिएका छन् । अफ्रिकी अन्य देशमा पनि बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भइरहेका आन्दोलनमा परी सयौँको मृत्यु भएको छ ।

६. बेलायतमा कन्टेनरभित्र ३९ जनाको शव

बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेलापरेका छन् । फेलापरेका शवमध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको परीक्षणबाट पुष्टि भएको थियो । उनीहरू सुरुमा चिनियाँ नागरिक भनिए पनि पछि भने भियतनामी भएको अधिकारीले बताएका थिए ।

७. राहुल गान्धीको राजीनामा

भारतीय कङ्ग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए । लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिएका हुन् । उनलाई राजीनामा नदिन शुभेच्छुकले दबाब दिए पनि उनले मानेनन् ।उनको अडानका कारण पार्टीका पूर्वअध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्ष छन् ।

८. जापानी सम्राटको दुर्लभ निर्णय

जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यस वर्ष भयो । त्यहाँका सम्राट अकिहितोले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय गरे ।

अकिहितोले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो जापानको राजा भए । नयाँ राजाले राजगद्दी सम्हालेसँगै जापानमा नयाँ युगको सुरुवात भएको भनिएको छ ।

९. भारतमा बाबरी मस्जिद र जम्मु–काश्मिर

भारत सरकारले ५ जुलाईमा मुस्लिम बाहुल्य रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी गर्‍यो ।त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्त्वपूर्ण दिनका रूपमा लिइएको छ । भारतकै अयोध्यामा वर्षाैं पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो ।

उक्त स्थानमा रहेको रामको मन्दिर हिन्दुले आफ्नो क्षेत्रका रूपमा दाबी गरेका थिए भने इस्लामले पनि उक्त क्षेत्रमा बाबरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वाेच्च अदालतले सो स्थान हिन्दुलाई दिने र इस्लामका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्‍यो ।

१०. श्रीलङ्कामा दाजुभाइको सत्तारोहण

श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वा्चित भए । उनी निर्वा्चित भएको केही दिनमै तत्कालीन प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले राजीनामा दिए र आफ्नै दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरे ।

सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति बनेर बाहिरिएका राजापाक्षे फेरि सत्तामा फर्किएको र दाजु प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एसियामा चर्चाको विषय रह्यो ।

११. इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको अदालतमै मृत्यु

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । अदालतमा बयान दिन लागेको केहीबेरमा मोर्सी ढलेका थिए । प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकले भने उनको हत्या भएको आरोप लगाएका थिए ।

१२. पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा पक्राउ परे । सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरू विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।

१३. २ सय २७ बालबालिकाको सामूहिक चिहान

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्त्वविद्ले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेलापारे । आजसम्म फेला पारिएको यस्ता चिहानमा यो सबैभन्दा ठूलो भएको अधिकारीले बताएका थिए ।

१४. ‘मीटू’ मुद्दामा ३४ लाख येन क्षतिपूर्ति

जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार सिओरी इटोले बलात्कारसम्बन्धी मुद्दा जितेकी छन् । जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्त्वका साथ लिइएको थियो । टोकियोस्थित ‘सिभिल कोर्ट’ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाख येनभन्दा बढी जरिवाना तीर्न आदेश दिएको थियो ।

उनले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेकी थिइन् ।

१५. सरिफ सिकिस्त, अब्बासी पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त बिरामी भएका छन् । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचार गरी निको नभएपछि बेलायत लगिएको थियो ।

उनको अवस्था अहिले पनि चिन्ताजनक नै रहेको छ । सन् २०१९ मै पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परे । सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्री भएका अब्बासीलाई पक्राउ गरिएको विषयलाई पनि चासोका साथ हेरियो ।

१६. मुसरफलाई मृत्युदण्ड

पाकिस्तानका अर्का पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभर नै यस फैसलाले विवाद निम्त्याएको छ । बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनु अगावै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्नसमेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ ।

१७. नागरिकताको नयाँ व्यवस्थाले ततायो भारत

नागरिकतासम्बन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिलनाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ ।

आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो ।

१८. ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव

सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् । हाउस अफ रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरूपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो । तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २ सय ३० र विपक्षमा १ सय ९७ मत खसेको थियो ।

१९. सान्ना विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषय यस वर्षको अन्त्यतिर निकै चर्चा भयो ।प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्या्टिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो ।उनले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० वर्षभन्दा कम उमेरकालाई बनाएकी छन् । गठबन्धन सरकारमा पाँचवटा दल सहभागी छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् ।

यीबाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन र अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभर चर्चामा रहिरहे । यस्तै, उतारचढावका बीच वर्ष सन् २०१९ बिदा हुँदै छ र नयाँ वर्ष २०२० लाग्न थालेको छ ।
रासस

Womui
Womui