सन् २०३० सम्म नेपालीको आय वार्षिक १२ हजार ५००

46

छिनछिन खबर
काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सन् २०३० सम्म प्रत्येक नेपाली नागरिकको आय वार्षिक १२ हजार ५०० सय डलर हुने दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

’सरकारले व्यक्तिको आम्दानी बढाउने योजना ल्याउँदैछ, असल, शिक्षित, देशभक्त नागरिक र उत्पादनका सम्पूर्ण क्षेत्र सबल बनाउँदै लगिनेछ’, उनले भने । त्यसैगरी उनले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको पनि दाबी गरे । जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको उनको दाबी थियो । उनले भने, ’अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।’

मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर मागपत्र बोकेर जिल्ला सदरमुकाम धाउने युगको अन्त्य भएको बताए । उनले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राखे । ’जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ’, उनको जिकिर थियो । मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहो¥याए ।

’विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन’, उनले भने । सरकारको लक्ष्य देश विकास–समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपालस् सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्‍याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ’स्वाधीन अर्थतन्त्रबिना खुशी ल्याउन सकिन्न, हरेक विकासलाई उत्पादनसँग जोडेर सरकार अघि बढिरहेको छ ।’ सन् २०२२ सम्म प्रत्येकका घरमा आधारभूत खानेपानी, सुरक्षित बस्ती विकास, रोजगारीको सिर्जना गरिने उल्लेख गदै उनले फलामखानी खुल्ने प्रक्रियामा रहेको, फलाममा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिने बताए । यसैगरी उनले शिक्षाको लगानी १० वर्षपछि प्राप्त हुने भएकाले विद्यालयको ‘जग’देखि नै देशले खोजेको जनशक्ति उत्पादनलाई मजबुत बनाउन आग्रहसमेत गरे । रासस

Womui
Womui