अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन

38

काठमाडौं–गैरकानुनीरूपमा नेपाल आएका अधिकांश चिनियाँ नागरिकसँग पासपोर्ट नै नभएको तथ्य फेला परेको छ। नेपाल र चीन सरकारद्वारा गरिएको अप्रेसनका क्रममा पक्राउ परेका ती नागरिकको अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको प्रहरी अधिकारीहरूले जनाएका हुन् ।


चीन र कम्बोडियाबाट नेपाल आएका ती चिनियाँँ नागरिकहरूले पासपोर्ट च्यातेको तथ्य फेला परेको सो घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । पक्राउ परेका केही चिनियाँ नागरिकसँग पासपोर्ट भए पनि उनीहरू भिसाको म्यादभन्दा बढी समय बसेको पाइएको ती अधिकारीले बताए।

नेपालमा आएर बसेका झन्डै ३ हजारको संख्यामा रहेका आपराधिक मनोवृत्तिका चिनियाँ नागरिकबारे प्रहरीले खोजीकार्य तीव्र बनाएको छ भने राजधानीबाट भागेर अन्यन्त्र जानसक्ने सम्भावना भएका उनीहरूको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरीको टोली परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीको विभिन्न शाखाको संयुक्त टोलीले छापा मारी १ सय ३० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ती चिनियाँ नागरिकबारे थप अनुसन्धान गर्न प्रहरीले मंगलबार ५ दिनका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ । गैरकानुनीरूपमा नेपाल प्रवेश गरेर नेपाली भूमि प्रयोग गरी चीन सरकार र चिनियाँ नागरिकलाई पीडित बनाउने काममा संलग्न रहेका ती चिनियाँ नागरिकको चीन सरकारले पासपोर्ट नै रद्द गर्ने तयारी गरेकाले उनीहरूलाई चीनतर्फ फर्काउने तयारी भएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार पछिल्लोपटक नेपाल प्रवेश गरेका चिनियाँ नागरिकहरूले सामाजिक सञ्जालमा नक्कली आइडी प्रयोग गरी चिनियाँ युवतीसँग ठूलो रकम रकम संकलन गरी आफ्नो खातामा जम्मा गर्ने गरेको तथ्यसमेत फेला परेको छ । पक्राउ परेका चिनियाँ नागरिकले नेपालमा बसेर चिनियाँ युवतीहरूलाई माया–प्रेममा पारेर नेपाललगायतका विभिन्न मुलुक घुमाउने भन्दै ती युवतीहरूसँग पैसा असुल गर्ने गरेको पाइएको ती अधिकारीले बताए । नेपाल समाचारपत्र

Womui
Womui