बाँकेका स्थानीयतहहरुले मानव बेचविखन नियन्त्रण गर्ने निति बनाउन थाले

123

नेपालगन्ज, पुस ८-
मानवबेचविखनले विकराल रुप लिंदै गएपछि सो नियन्त्रणका लागि बाँकेका विभिन्न स्थानीय तहहरुले मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धि निति निर्माण गर्न शुरु गरेका छन् । सो क्रममासबैभन्दा पहिले खजुरा गाउँपालिकाले एक कार्यशालाको आयोजना गरेर मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धि नितिको मस्यौदा तयार गरेको छ । निति निर्माण सम्बन्धि विशेषज्ञको सहभागितामा खजुरामा दुई दिने कार्यशालाको आयोजना गरेर नितिको मस्यौदा तयार पारेको गाउँपालिकाले जनाएको छ ।

निति निर्माण सम्बन्धी विशेषज्ञ रत्नाकाजी बज्राचार्यको उपस्थितिमा गाउँपालिकाका उपाध्यक्ष, कार्यकारी प्रमुख, वडा अध्यक्ष र सदस्य, गाउँ कार्यपालिकाका सदस्यहरु, न्यायिक समितिका सदस्यहरु, बाल क्लब र किशोरी क्लबका प्रतिनिधि, प्रहरी तथा महिला शाखाका प्रतिनिधि लगायत विभिन्न संघसंस्था प्रतिनिधिहरुको सहभागितामा दुई दिने कार्यशालाबाट नितिको मस्यौदा तयार पारिएको गाउँपालिकाका निमित्त अध्यक्ष एकमाया विकले बताइन् । सो मस्यौदालाई गाउँपालिकाको आगामी परिषदबाट पारित गरिने तथा कडाईका साथ कार्यान्वयनमा ल्याइने उनले जनाइन् । मानव बेचविखन नियन्त्रणका लागि कडा निति आवश्यक रहेकोले यो निति निर्माण गरिएको उनको कथन छ ।
मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धि निति निर्माणका लागि आयोजना गरिएको दुई दिने कार्यशालाको समापनमा बोल्दै निमित्त अध्यक्ष विकले सो कुरा बताएकी हुन् ।

सोही अवसरमा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बम बहादुर केसीले मानव बेचविखन समाजका लागि गम्भीर समस्या बन्दै गएकोले अब सबैले मिलेर कडाईका साथ नियन्त्रणमा जुट्नु पर्ने आवश्यकता औंल्याए । निति निर्माण विशेषज्ञ बज्राचार्यले निति मात्र बनाएर नपुग्ने जनाउँदै सो नितिको सफल कार्यान्वयन आवश्यक रहेको कुरामा जोड दिए । बाँके युनेस्को क्लबका सह निर्देशक साजिद अलि सिद्दिकीले समाजका लागि कलंक बन्दै गएको मानव बेचविखन जस्ता जधन्य अपराधलाई रोक्न निति बनाएर सो नितिलाई कडाईका साथ पालना गर्नु पर्ने बताए । खजुरा गाउँपालिका महिला शाखाका कार्यक्रम सञ्चालिका सुशिला न्यौपानेले ३२ जना आवश्यक सरोकारवालाहरुको सहभागितामा तयार गरिएको नितिको मस्यौदा उत्कृष्ट रहेको प्रष्ट पारिन् ।

सो निति निर्माण गर्ने कार्यमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोग कार्यशालाको आयोजना गरेको थियो । सो प्रकारको निति निर्माण बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा पनि तयार गर्ने योजना रहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए । सीमावर्ति जिल्लाहरुमा मानव बेचविखन तथा ओसार पसार दिनदिनै बढ्दै गएको बेला स्थानीय तहले यस्ता निति निर्माण गर्नु निकै सकारात्मक कार्य भएको जनाउँदै यसले बेचविखन र ओसारपसार रोक्न अहम भूमिका खेल्ने माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए । उनले कडा निति नियम नरहेकै कारण नियन्त्रणमा समस्या भैरहेको बताए ।

 

Womui
Womui