१९ जनाले राष्ट्रियसभा गुमाउँदै, यी हुन राष्ट्रिय सभाबाट बाहिरिनेहरू

99

छिनछिन खबर
काठमाडौं– राष्ट्रिय सभाबाट एकैपटक १९ जना सदस्य बाहिरिँदै छन् । राष्ट्रियसभाबाट ती सदस्य बाहिरिने भएपछि निर्वाचन आयोगले निर्वाचनका लागि राजनीतिक दलहरुसँग परामर्श गर्न थालेको छ । सङ्घीय संसद् सचिवालयले केही दिनअघि राष्ट्रियसभा निर्वाचनका लागि आयोगलाई अनुरोध गरेको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ । रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुहुनेछ । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्ने बताए । राष्ट्रियसभा सदस्यको पहिलो पटक एक तिहाई सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाईको चार वर्ष र बाँकी एक तिहाईको छ वर्षमा पदावधि हुने व्यवस्था गरिएको छ ।

को–कसको पूरा हँदैछ दुईवर्षे कार्यकाल
पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरुमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली हुन् ।

अर्थमन्त्रीसमेत समेत रहेका युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा राष्ट्रपतिबाट मनोनीत हुनेछ । उनि यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका हुन् ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टीका नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वा्चित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुन्छ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन् ।

Womui
Womui