सातामा ५० मिनेट दौडनुस्, आयु बढाउनुस्

42

काठमाडौं– तपाईको दैनिकी कसरी बितिरहेको छ ? काममा मात्र बढी व्यस्त हुनुहुन्छ वा शारीरिक अभ्यासलाई पनि ध्यान दिइरहनु भएको छ ? ‘द कन्भरसेसन’ ले निकालेको ‘ब्रिटिस जर्नल अफ स्पोर्ट मेडिसिन’ मा दौडिने मान्छेको आयु नदौडिनेको भन्दा धेरै हुने उल्लेख छ ।

जर्नलअनुसार दौडले स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउनुका साथै मृत्युको जोखिम कम गर्छ । जर्नलका १४ अध्येताको व्यक्तिगत अध्ययनले दौड र मानिसको औसत आयु तथा मृत्युको जोखिमबीच सम्बन्ध देखाएको छ । दौडिने मान्छेमा मृत्युको जोखिम नदौडिनेभन्दा २७ प्रतिशत कम हुने जर्नलमा उल्लेख छ । विशेषगरी दौडिने मान्छेमा मुटुको जोखिम ३० प्रतिशत र क्यान्सरबाट मृत्यु हुने जोखिम २३ प्रतिशत कम हुने अध्ययनले देखाएको छ ।

विगतका केही अध्ययनमा दौडले मोटोपन, उच्च रक्तचाप, उच्च कोलस्ट्रोल, अशक्तता, मधुमेह, मुटु रोग र क्यान्सरजस्ता रोगको जोखिम कम गर्ने पुष्टि भइसकेको छ । यसले धेरै श्वासप्रश्वास हुने शारीरिक क्रियाकलाप, मुटुको चालचलन तथा सन्तुलन र मेटाबोलिजम सुधार्छ। यी सबै हाम्रो राम्रो स्वास्थ्य स्थितिका महत्त्वपूर्ण पक्ष हुन् । हामीले पहिल्यैदेखि जति धेरै दौडियो उति राम्रो भन्ने सुन्दै आएका हौं। हालको यो अध्ययनले भने बढी वा धेरै दुरी दौडिनुनपर्ने विषय पनि उठान गरेको छ ।

अध्ययनका अनुसार साताको ५० मिनेट मात्र दौडिँदा पनि मृत्यु जोखिम कम गर्न सहयोग पुग्छ । साताको एकपटक ५० मिनेटसम्म दौडेर पनि तपाईं आफूले चाहेको फाइदा लिन सक्नुहुन्छ । यसको अर्थ धेरै दौडिन सक्ने वा चाहनेले एकाएक थोरै दौडिनुस् भन्ने होइन । आफूलाई जुन गतिमा जति सहज हुन्छ, त्यही हिसाबमा दौडिँदा हुन्छ । अध्ययनले अर्को कुरामा पनि जोड दिएको छ– तीव्र गतिमा दौडिनु र विस्तारै दौडिनुका फाइदामा खास फरक छैन । आठ किलोमिटर प्रतिघन्टा र १३ किलोमिटर प्रतिघन्टा रफ्तारको दौडाइले स्वास्थ्यमा कुनै अलग प्रभाव नपार्ने हुँदा आफ्नै सहज गतिमा दौडिन अध्ययनले सुझाएको छ । एजेन्सी

Womui
Womui