महरालाई थप पाँच दिन थुनामा राख्‍न अदालतको अनुमति

20

छिनछिन खबर
काठमाडौं– निर्वतमान सभामुख महरालाईं जिल्ला अदालत काठमाडौंले थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । बलात्कार प्रयासको आरोप लागेका महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।

जिल्ला अदालतले पक्राउ परेको दिनदेखि १३ दिनको म्याद थप गरिदिएको थियो । तर यो अवधिमा पनि उनीमाथिको अनुसन्धान नसकिएपछि प्रहरीले थप थुनामै राख्नका लागि अनुमति माग्दै महरालाई जिल्ला अदालत लगेको हो ।
प्रहरी हिरासतमा बिरामी परेपछि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।

उनले प्रहरीसँग बयान दिनसमेत आनकानी गरेका थिए । न्यायाधीश बाबुराम सुवेदीको इजलासमा अनुसन्धानका लागि महरालाई हिरासतमै राख्ने अनुमति दिने वा नदिने भन्ने बहस चलेको थियो । त्यसपछि न्यायाधीश सुवेदीले पाँच दिन थप हिरासतमा राख्‍न आदेश गरेका हुन् ।

उनको इजलासमा महराले बलात्कारको प्रयास गरेको भनिएकी संसद सचिवालयमा कार्यरत महिला कर्मचारी आफ्ना श्रीमानसँगै उपस्थित भएकी थिइन् । उनले न्यायाधीशसमक्ष महराले आफूमाथि कुनै ज्यादती, दुव्र्यवहार वा हिंसा नगरेको बयान दिएकी छन् । महराका कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठका अनुसार ती महिलाले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध जाहेरी दिन बाध्य पारेको पनि आरोप लगाएकी छन् ।

पूर्व सभामुख महराले ती महिलामाथि बलात्कारको प्रयास गरेको आरोप सार्वजनिक भएपछि उनी यस अघि पनि महानगरीय प्रहरी वृत्त बानेश्वर पुगेर महराले आफूलाई केही नगरेको व्यहोराको निवेदन दिएकी थिइन् ।

Womui
Womui