सितापुर घटनाका ‘मुख्य दोषी’ मल्ललाई उन्मुक्ती दिएको भन्दै कांग्रेसको आपत्ती

30

नेपालगन्ज, असोज ३०-
बाँकेको सितापुरमा भएको घटनाको ‘मुख्य दोषी’ सुमन मल्ललाई प्रहरीले कानुनी कारबाहीबाट उन्मुक्ती दिएको भन्दै कांग्रेसले आपत्ती जनाएको छ । सत्य तथ्य घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै मल्ल लगायत १० जना उपर ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेले कम्यूनिष्ट सरकारको दवावमा फितलो अनुशन्धान गरी मुख्य दोषीलाई उनमुक्ती दिएको पार्टी सचिव कपिलदेव शर्माले बिहीबार विज्ञप्तीमार्फत बताएका छन् ।

किटानी जाहेरीको १ नम्बरमा नाम रहेका मल्लको नाम जिल्ला सरकारी वकीलको कार्यालयबाट प्रमाणको अभावमा मुद्दा चलाउन नसक्ने भनि प्रहरी, प्रशासन, सरकारी वकिल कार्यालय र कम्यूनिष्ट सरकारको मिलोमतोमा मुख्य दोषीलाई छुट्कारा दिई अन्य व्यक्तीलाई मात्र मुद्दा चलाएको कांग्रेसको ठहर छ । गत भदौं २६ गते खजुरा गाँउपालिका वडा नम्बर २ सितापुरस्थित रेडक्रसको सभाहलमा जागरण कार्यक्रम चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थानीय स्तरका नेता एवम् खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुम बहादुर ओली, निर्मल खत्री समेतका गुण्डाको एक जथ्थाले एक्कासी कार्यक्रम स्थलमा प्रवेश गरी हो–हल्ला र हुल हुज्जत गरी जिल्ला सभापति किरण कोइराला लगायतका नेतामाथी हातपात र कुटपिट गर्दै सभापतिको हात भाँच्ने गरी अभद्र ब्यवहार गरेको बाँके कांग्रेसले बताउँदै आएको छ ।

‘राजनीतिक दबाव र घटनाको सत्य तथ्य जाँच नगरी एकतर्फी रुपमा सत्ताको दुरुपयोग गर्दै प्रहरी प्रमुखले पार्टी सभापति लगायत माननीयहरुलाई नै अभद्र रुपले फोनमार्फत धम्क्याउने कोसिस गर्नु, सत्ताको आडमा जथाभावी गर्नु, मुख्य दोषीलाई मुद्दा नचलाउनु, फितलो अनुसन्धान गर्नु, पीडितलाई न्याय नदिनु जस्ता घृणित कार्यप्रति हाम्रो ध्यान आकृष्ठ भएको छ,’ विज्ञप्तीमा भनिएको छ । मुख्य दोषीलाई कारबाही र पीडितलाई न्यायको लागी संम्बन्धित सरोकारवाला निकाय र नेपाल सरकारसँग नेपाली कांग्रेस बाँकेले माग गरेको छ । अन्यथा नेपाली कांग्रेसले पुनः आन्दोलन कार्यक्रम घोषण गर्ने चेतावनी विज्ञप्तीमा दिइएको छ ।

Womui
Womui